जलजलाले सुरु ग¥यो लक्षित समुदायलाई निशुल्क एम्बुलेन्स सेवा

विकल्प न्यूज\बेनी

साउन १० गते ।

पर्वतको जलजला गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निशूल्क उपलब्ध गराउन थालेको छ ।

गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

एम्बुलेन्स, विपद् ब्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई ब्यवस्थापन गर्न लामाखेत स्थित गाउँपालिका कार्यालय परिसरमा स्थापना भएको सचिवालयको अध्यक्ष राजुप्रसाद आचार्यले बिहिबार उद्घाटन गरे ।

‘तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वस्थ्य अवस्थामा सूधार ल्याउन प्राथमिकता दिएका छौ,’ उनले भने ‘जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।’

वडा कार्यालयको सिफारिसमा सचिवालयका कर्मचारीहरुले समन्वय गरेर एम्बुलेन्स सेवा उपलब्ध गराउने, विपद् ब्यवस्थापन र सेवा प्रवाहमा सहजिकरण गर्ने व्यवस्था मिलाइएको छ । पैसा नलाग्ने १८१०५०००१६८ नम्बरको टोलफ्रिका साथै एम्बुलेन्स चालकलाई २४ सै घण्टा सम्पर्क गरेर सेवा लिन सक्ने ब्यवस्था मिलाइएको उपाध्यक्ष दिपक आचार्यले बताए ।

प्रवासी नाग्लीवाङवासीहरुको सहयोगमा खरिद गरिएको ग १ झ ६१६ र भारतीय दुतावासले उपलब्ध गराएको ध १ झ ३७ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन भएको छ ।

सरकारले बनाएको मापदण्ड अनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको र लक्षित समुदायलाई सेवा दिएको रकम सोधभर्ना गाउँपालिकाको कोषबाट गरिने प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताए ।

गाउँपालिकाको एम्बुलेन्स र ब्याकुहोलोडरलाई जिपिएस मार्फत सर्वसाधारणले पनि पत्ता लगाउन सक्ने प्रबिधी जडान भएको छ । निशूल्क एम्बुलेन्स सेवाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा रु ५ लाख बजेट बिनियोजन गरेको छ । इच्छुक व्यक्तिहरुले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गरेर सहयोगका लागि अपिल गरेको छ ।