चितवनमा रहेका एमाले निकट पर्वतेलीहरु संगठीत


विकल्प न्यूज/पर्वत
साउन ९ गते ।

पर्वत जिल्लाबाट पेशा व्यवसाय र रोजगारीका क्रममा चितवन जिल्लामा पुगेका एमाले निकट पर्वतेलीहरु संगठीत भएका छन् । बुधबार नेकपा एमाले पर्वतले चितवन जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको भेलाबाट नेत्र शर्माको अध्यक्षतामा ३१ सदस्यीय पर्वत–चितवन सम्पर्क समाजको तदर्थ कमिटी चयन गरेको छ ।

कमिटीले ६ महिनाभित्रमा प्रथम भेला आयोजना गरी सम्पर्क समाजलाई पूर्णता दिने छ । “जहाँ पार्टीका समर्थक, शुभचिन्तक तथा सदस्य त्यहाँ पार्टी काम” भन्ने नाराका साथ चितवनमा भेला आयोजना गरिएको नेकपा एमाले पर्वतले जनाएको छ ।

भेलामा नेकपा एमाले केन्द्रिय सदस्य तथा पूर्व मन्त्री पदम गिरीले चितवनलाई कर्मथलो बनाएका पर्वतेलीहरुलाई पार्टीमा संगठीत गरेर ज्ञान,सीप र पूँजीलाई पर्वतको विकासमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेकपा एमालेमा आस्था राख्ने पर्वतेलीहरु जहाँ भएपनि संगठीत भएर मुलुकको विकास र समृद्धिका लागि योगदान गर्न आग्रह गर्नुभयो । अस्थिर राजनीतिको अन्त्य गर्न,राजनीतिक स्थायित्व र विकासका लागि दुई ठूला राजनीतिक दलहरु मिलेर बर्तमान सरकार गठन भएको उहाँले विचार व्यक्त गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएलगत्तै जनतामा आशाको सञ्चार प्रवाह भएको प्रतिनिधि सभामा पर्वतबाट प्रतिनिधित्व समेत गर्नुहुने पूर्व मन्त्री गिरीले बताउनुभयो ।

भेलामा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले पर्वतमा जन्मिएर देशका विभिन्न जिल्लाहरुमा पुग्नुभएका एमालेप्रति आस्था राख्नेहरुलाई संगठीत गर्न यो अभियान संचालन गरिएको बताउनुभयो ।


चितवनमा पुगेर विभिन्न पेशा, व्यवसायमा संलग्न रहेर पर्वतेलीहरुले हासिल गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई पर्वत जिल्लाको विकास निर्माणमा जोड्न पुलको रुपमा पर्वत–चितवन सम्पर्क समाजले काम गर्ने अध्यक्ष पहाडीले विश्वास व्यक्त गर्नुभयो ।

भेलामा नेकपा एमाले पर्वत र चितवन जिल्लाका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो । यसैगरी साउन १० गते नवलपुर क्षेत्रको कावासोती स्थित नेकपा (एमाले)पार्टी कार्यालयमा र साउन ११ गते बुटवल क्षेत्रको सुख्खा नगर स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा भेला आयोजना गरिएको जिल्ला कमिटी पर्वतका सचिव सुवासचन्द्र लामिछाने जानकारी दिनुभयो ।