सिंगा तातोपानी कुण्डमा सन्ध्याकालिन आरती

ठाकुरप्रसाद आचार्य

म्याग्दी,साउन ८ गते ।

उपचार र मनोरञ्जनका लागि तातोपानी कुण्डमा आउने पर्यटकहरुलाई लक्षित गरेर सन्ध्याकालिन आरती सुरु गरिएको छ ।

प्राकृतिक उपचारका रुपमा प्रशिद्ध म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरती सुरु गरिएको हो ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको पहिलो सोमबार पारेर सन्ध्याकालिन आरती सुरु गरेको हो । हरेक सोमबार साँझ नियमित रुपमा आरती गरिने समितिका सचिव कुमार केसीले बताउनुभयो ।

“बागलुङबाट जनशक्ति ल्याएर अहिले हरेक हप्ताको सोमबार साँझ आरती गर्न शुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “प्राकृतिक उपचार र पर्यटकीय स्थल तातोपानीलाई धार्मिक रुपमा पनि प्रवद्र्धन गर्न स्थानीय जनशक्ति तयार पारेर आरतीलाई निरन्तरता दिन्छौ ।”

म्याग्दी नदीको किनारमा शिव मन्दिर र तातोपानीको कुण्ड परिसरमा भजन किर्तन र धार्मिबिधी अनुसार आरती गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरुलाई लक्षित गरेर आरती शुरु गरिएको अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

जमिन भित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस भन्दा बढी तातोपानी निस्कने यहाँ शरिर डुबाएर स्नानका लागि वार्षिक २० हजार भन्दा बढी पाहुनाहरु आउने गर्दछन् । समितिका अध्यक्ष कृष्ण खड्का र पुर्व अध्यक्ष बिरेन्द्रमान शाक्यले आरतीको शुभारम्भ गर्नुभएको थियो ।

सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत सुरक्षा अधिकारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायत जनप्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

आरती शुभारम्भको अवसरमा स्थानीयबासी र भक्तजनहरुले भजनकिर्तन सहित नाचगान गरेका थिए । कार्यक्रममा सहभागी बेनपा ४ बास्कुना घर भई हाल न्युजिल्याण्ड निवासी एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले कुण्डलाई ५१ हजार रुपियाँ सहयोग गर्नुभएको थियो । आरतीका लागि अन्य दाताहरुले पनि सहयोग गर्नुभएको थियो ।