गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण


ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
म्याग्दी, साउन ४ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि आश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई भेला तथा जमघट हुन र विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा सभाहल निर्माण गरिएको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक आश्रममा रहेको सामुदायिक स्वास्थ्य इकाईको भवन माथि तला थपेर निर्माण गरिएको फेब्रिक प्रविधिको सभाहलमा एकसय पचासजना अट्न सक्ने क्षमता छ । सभाहल निर्माण भएपछि खुल्ला चौरमा भेला हुनु्पर्ने ज्येष्ठ नगारिकको बाध्यता हटेको छ ।

सभाहलको शुक्रबार बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सभाहल निर्माण भएपछि आश्रमका ज्येष्ठ नागरिकहरुलाई भेला हुन र विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहज हुने वडाध्यक्ष केसीले बताउनुभयो । गलेश्वर शिवालयमा भक्तजनहरुले चढाएको भेटीको रकमबाट ज्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गलेश्वर शिवालय मन्दिर दर्शनका लागि आएका भक्तजनहरुबाट प्राप्त भएको चन्दा,सहयोग र भेटीको रकम र ज्येष्ठ नागरिक आश्रमलाई प्राप्त भएको चन्दा सहयोगबाट सभाहल निर्माण गरेका हौं ।’’

म्याग्दी प्रवासी संघ(मोना) कतारले पचासहजार रुपियाँ बराबरको सभाहलमा आवश्यक पर्ने फर्निचर,कुर्ची,सफासेट र पोडियम सहयोग गरेको छ । ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाहरुले आश्रय लिएका छन् ।

ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको अध्यक्षता,सचिव लक्ष्मण चालिसेको संचालन र आश्रमका उपाध्यक्ष टिकानन्द सुवेदीको स्वागतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आश्रममा बसोबास गर्ने ज्येष्ठनागरिकहरु,कोषका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।