मुख्यमन्त्री पाण्डेको त्यो झुटो आश्वासन ःफापरखेत पहिरोमा सास्ती उस्तै

विकल्प न्यूज/बेनी
असार २९ गते ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत असोजमा म्याग्दी आउँदा भन्नुभएको थियो, ‘‘६ महिना भित्रमा प्रदेश सरकारले पहिरोको विकल्पमा सडक खोल्ने र म्याग्दीखोलामा बेलिव्रिज हाल्ने छौं । फापरखेत पहिरोले दिएको दुःख र सास्तीबाट म्याग्दीवासीले मुक्ती पाउनेछन् यो मेरो प्रतिवद्धता हो ।’’

मुख्यमन्त्री पाण्डेले बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षणपछि उक्त कुरा बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, ‘‘पहिरोले गर्दा म्याग्दीवासीहरुले धेरै दुःख पाउनुभएको छ । बर्खायाम अघि वैकल्पिक सडक निर्माण गरी म्याग्दी खोलमामा पुल निर्माण हुन्छ ।’’उहाँको यो भनाईलाई अहिले म्याग्दीवासीहरुले झुटो आश्वासनका रुपमा बुझनु परेको छ ।

‘‘प्रदेश सरकारले जसरी पनि अबको हिउदमा बेलिब्रिज हाल्छ, अवको बर्खायाममा म्याग्दीवासीले फापरखेतको पहिरोमा जोखिम मोलेर वारपार गर्नुपर्दैन,’’ मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

गत असोजमा पहिरोको अवलोकन गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्यहरु लगायत ।

मुख्यमन्त्री पाण्डेले गरेको प्रतिवद्धताले दश महिना नाग्यो । फेरी बर्खायाम सुरु भइसकेको छ । पानी परेपछि फापरखेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । अहिले म्याग्दीवासीहरु भन्छन् ‘‘मुख्यमन्त्रीको बाचा अनुसारको कुनै काम पनि अघि बढेनन् । मुख्यमन्त्रीले झुटो आश्वासन दिनुभयो ।’’

पहिरोको निरिक्षण पछि गत असोजमा मुख्यमन्त्री पाण्डे, तत्तकालिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सांसद हरिबहादुर भण्डारी, बिमला गौचनको टोलीले फापरखेत खण्डमा वैकिल्पिक सडक बनाउने विषयमा बेनीमा सरोकारवालाहरुसँग छलफल समेत गर्नुभएको थियो ।

त्यसपछि नेपाल जेसिजले बेनीको खुल्ला मञ्चमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रतिवद्धतालाई सार्वजनिक रुपमै दोहो¥याउनुभएको थियो । भाषणमा प्रतिवद्धता जनाएपछि मुख्यमन्त्री पाण्डेले ताली समेत खानुभएको थियो ।

रातको समयमा पहिरोको अवलोकन र निक्षिण गरेको भनेर तत्कालिन समयमा मुख्यमन्त्री पाण्डेको आलोचना समेत भएको थियो ।

मुख्यमन्त्रीको प्रतिवद्धता पछि म्याग्दीबाट निर्वाचित हुनुभएका प्रदेश सभा सदस्य समेत रहनुभएका तत्कालिन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली लगायतको टोलीले बेलिब्रिजको अध्ययन समेत गरेको थियो ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । सडक अवरुद्ध हुने मात्र होइन यो स्थानमा ठूलो मानविय क्षति हुनेसक्ने संभावना हुँदा पनि सम्बन्धित निकायले कुनै पहल गरेको देखिदैन ।

सामान्य बर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ । पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने समेत गरेका छन् ।

अहिले चारदिन देखि फापरखेत पहिरोका कारण सडक अवरुद्ध भएको छ । खुलाउने प्रयास गरेपनि माथिबाट पहिरो झरिरहेकाले सडक खुलाउन सम्भव भएको छैन । सडक अवरुद्ध हुँदा म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकाका सर्वसाधरणहरुले सास्ती भोगेका छन् ।