म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

विकल्प न्यूज/बेनी
असार २७ गते ।

म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो। 

दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालू आर्थिक वर्ष २०८०/८१ का लागि २४ लाख रुपैयाँ बजेट आएको थियो। 

सो कार्यक्रमका लागि दोनान, बास्कुना, शुभकामना कृषि र सिमलचौर बिउ बिजन कृषि सहकारी संस्थाले आवेदन पेश गरेका थिए। शुभकामना कृषि सहकारी संस्थामा आवद्ध कृषकहरूले मात्र २ लाख १ हजार ५०० रुपैयाँ अनुदान पाएका छन्। २१ लाख ९८ हजार ५०० रुपैयाँ अनुदान फिर्ता भएको हो। 

बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेको ढुंगाना कृषि तथा पशुपक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले कार्यविधि अनुसार प्रक्रिया पुरा गरेर तोकिएको सबै कागजात पेश गरे पनि कार्यालयका केही कर्मचारीले पूर्वाग्रह र बदनियतपूर्ण ढंगले कृषकहरूलाई अनुदानबाट बञ्चित गराएका गुनासो गरे। 

‘हरेक चौमासिकमा वितरण गर्नुपर्ने अनुदान कर्मचारी अभावको बाहना बनाएर एकै किस्तामा आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने प्रतिवद्धता जनाएका भेटेरिनरी कार्यालयका कर्मचारीको पूर्वाग्रही व्यवहार, व्यक्तिगत र व्यावसायिक स्वार्थ पुरा नगरेका कारण नियतबस फिर्ता गरिएको छ,’ उनले भने ‘असार २४ गते साँझसम्म भुक्तानी आउँछ ढुक्क हुनुस् भनेका कार्यालय प्रमुख र सम्बन्धित कार्यक्रम हेर्ने कर्मचारीले बजेट फिर्ता पठाएर कृषकलाई हिस्स पारेका छन्।’

बेनी बजारमा दैनिक १ हजार ५०० लिटर दूध आपूर्ति गर्ने ढुंगाना लगायत १८ जना कृषकहरूले दोभान कृषि सहकारी संस्था मार्फत अनुदानका लागि आवेदन पेश गरेका थिए। दैनिक २००/२०० लिटर भन्दा बढी दूध निकासी गर्ने बास्कुनाका कृषकहरूले बास्कुना र तातोपानी, बरंजा क्षेत्रका कृषकहरूले सिमलचौर कृषि सहकारी मार्फत आवेदन दिएका थिए। 

बेनपा–७ का अर्का कृषक कृष्णप्रसाद शर्माले विगतका वर्षमा सहज हिसाबले अनुदान पाए पनि यसपालि कर्मचारीहरूले असहयोग गरेको गुनासो गरे। ‘यसअघिका वर्षमा हामीले जुन कागजात पेश र प्रक्रिया पुरा गरेर अनुदान पाएका थियौ यसपालि पनि सोही अनुसार कार्यालयले मागेका सबै कागजात पेश गरेका हौं,’ उनले भने ‘भेटेरिनरी कर्मचारीहरूले अनुदानको आश देखाएर कृषकलाई झुलाउने, दुःख दिने र निराश बनाई विदेशिन बाध्य हुने वातावरण बनाए।’

कृषक शर्माले पशुमा पूर्ण खोप लगाउने अभियानका क्रममा पनि कार्यालयले खोपकर्ता नपठाएपछि बेनी नगरपालिका मार्फत गुनासो गरेपछि गाई भैँसीलाई खोप लगाइदिएका बताए।  केन्द्रका प्रमुख डा. भरत रेग्मीले कार्यालयका योजना प्रमुख सुवास रेग्मी नेतृत्वको समितिलाई देखाएर जिम्मेवारीबाट पन्छिन खोजे।  

‘योजना शाखाका प्रमुख, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिस अनुसार सहकारी संस्था छनौट र अनुदान वितरण भएको हो,’ उनले भने ‘जुन सहकारीले कार्यविधि र मापदण्ड पालना गरेको छ उसमा आवद्ध कृषकले अनुदान पाए। कार्यविधि अनुसार नभएका कारण अनुदान नपाएका हुन्।’

केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकहरूबाट दूध संकलन गरेर बजारमा पठाउने र सहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले उसलाई मात्र अनुदान दिएको बताए। ‘विगतमा के भयो त्यो सिफारिस गर्नेले जान्ने विषय हो,’ उनले भने ‘यसपालि कार्यविधिमा जे छ सोही अनुसार अनुदान दिएका हौं।’ 

कृषक भुवन आचार्यले केन्द्रका प्रमुख र योजना शाखा प्रमुख रेग्मीद्वयको भनाइको खण्डन गर्दै बदनियत राखेर कृषकलाई असहयोग, निरुत्साहित र नियतबस राज्यले दिएको सुविधाबाट बञ्चित गराएको गुनासो गरे। कृषकहरूले केन्द्र विरुद्ध आन्दोलन र बदमासीको विषयमा छानविनको माग गर्दै आन्दोलन गर्ने बताएका छन्। santosh gautam