बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी

विकल्प न्यूज/बेनी
असार २६ गते ।


म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधि पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधि पसलहरुमा अनुगमन गरिएको हो ।

औषधि पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई छुट्टै व्यवस्थापन गरिएको भएपनि केहीको ल्याब मापदण्ड अनुसार नभएको, डेन्टलमा बिरामी चेकजाँच गर्ने कोठा साँधुरो, फोहोर भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाको भनाई छ ।

बुधबधार निलगिरी मेडिसिन सेन्टर,न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, ढकाल मेडिकल हल,बेनी सञ्जीविनी हेल्थ क्लिनिकमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा बेनी अस्पतालका डाक्टर रामु सापकोटाले औषधि बिक्रेताहरुले डाक्टरको प्रेसक्रिप्सनमा औषधि वितरण गर्नुपर्ने, प्रयोगकर्ताले औषधिको दुरुपयोग गर्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका प्रतिनिधिमा ल्याब, फार्मेसीका प्रतिनिधि,म्याग्दीमा प्रहरी, प्रशासन र घरेलु तथा साना उद्योग कार्यालय लगायतको उपस्थिती रहेको थियो । बेनीबजारमा औषधि पसलको अनुगमनलाई निरन्तरता दिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

विगतमा अनुगमनमा दिइएको निर्देशन समेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको छ भने बिरामीको चेकजाँच गर्ने, ल्याबको संरचना परिवर्तन गरी सेवा सञ्चालन गर्ने गरी १ महिनासम्मको सुधारको समय समेत तोकिएको छ ।