म्याग्दीको मलम्पारमा भाइद्वारा चिर्पट प्रहार गरी दाइको हत्या


विकल्प न्यूज/बेनी
असार २६ गते ।

म्याग्दीको धवलागिरी गाउँपालिका– ५,मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय ३९ वर्षीय सोमबहादुर छन्त्यालले दाउरा चिर्पट प्रहार गरेर ४२ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् ।

सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् । घरायसी झगडामा भाइले दाउराले अनुहारमा प्रहार गर्दा धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दाइको हत्या गरेपछि भागदौड गरेर फरार भएका सोमबहादुरलाई स्थानीयले राती नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतक धनबहादुरको टाउकोमा गहिरो चोट लागेको छ ।

मृतक धनबहादुरका श्रीमती र दुई छोरीहरु रहेका छन् । हत्याको घटना भएपछि संलग्नलाई नियन्त्रण र घटनाको आबश्यक अनुसंधानको लागि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

‘‘इलाका प्रहरी कार्यालय दरबाङका इन्सपेक्टर सोमदास ढकाल नेतृत्वको टोली घटनास्थल जाँदै छ, हत्यामा संलग्न व्यक्ति स्थानीयको नियन्त्रणमा आइसककेका छन, घटनाको थप अनुसंधान गरेर कानुनी कारबाही अगाडी बढाउछौं’’– सूचना अधिकारी रायमाझीले भन्नुभयो ।