ठाकुरप्रसाद आचार्य
असार २५ गते ।
वर्षौ देखिको कच्ची र जिर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका ८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामिण सडकको घुम्ती सुधार,ग्रेड मिलाउने,नाली,पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरुको यात्रा सहज भएको हो ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षमा खनियाघाट–डिमुलाखोला–नाग्लीबाङ सडक स्तरोन्नति गरिएको छ । यो सडकको २०६४ मा ट्रयाक खुलेको थियो । १६ वर्ष अघि ट्रयाक खुलेको सडक स्तरोन्नति भएसँगै जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हटेपछि नाग्लीबाङवासीहरु खुसी भएका छन् । सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादन भएको कृषि उपज बजार लैजान सहज भएको वडाध्यक्ष हरि विकास जिसीले बताउनुभयो ।
गाउँपालिकाले सडक स्तरोन्नति गर्न एक करोड ३३ लाख ५५ हजार २१८ रुपियाँमा साहना सक्षम जेभीसँग ठेक्का सम्झौता गरी साँघुरो र अप्ठ्यारो सडक तथा घुम्तीलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माण गरिएको वडाध्यक्ष जिसीले बताउनुभयो । उहाँका अनुसार करिब एक किलोमिटर सडक ढलान गरिएको छ । डमुवाखोलादेखि नाग्लीवाङसम्मको ३ किलोमिटर सडकलाई स्तरोन्नति गरिएको छ ।
यसअघि गाउँपालिकाको ५० लाख रुपियाँ बजेटमा अप्ठ्यारो ठाउँमा पाँचसय मिटर सडक ढलान गरिएको थियो । सडक स्तरोन्नति भएपछि नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरमा पर्ने डमुवाखोलादेखि नाग्लीवाङ देखी लुप्राङ हु्ँदै बनौं जोड्ने यो सडक ११.५ किलोमिटर लामो छ ।
सडक पूर्ण रुपमा स्तरोन्नतिका लागि ४८ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर संघ र प्रदेशमा बजेट प्रस्ताव गरेपनि आगामी आर्थिक वर्षका लागि वजेट विनियोजन नहुँदा सडक स्तरोन्नति योजना रोकिने वडाध्यक्ष जिसीले बताउनुभयो ।