बेनी नगरका कच्ची सडक ढलान र कालोपत्रले यात्रा सहज बन्दै


ठाकुरप्रसाद आचार्य /बेनी
असार २४ गते ।

घर अगाडीको सडक कच्ची भएका कारण वर्षौ देखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि भने खुसी हुनुहुन्छ । कच्ची सडकका कारण बर्षौ देखि सास्ती भोग्दै आएका थियौं उहाँले भन्नुभयो, ‘‘अहिले घर अगाडीको सडक कालोपत्रे भएर चिल्लो भएको छ । धुलो र हिलोबाट मुक्ति पाएका छौं ।’’

यस्तै बेनी नगरपालिकाकै वडा नम्बर ६ बास्कोटका पशुपालक कृषक दुर्गाप्रसाद पौडेललाई दैनिक रुपमा बेनीबजारमा दूध पु¥याउन कच्ची सडकका कारण सास्ती थियो । अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक योजना अन्तर्गत बास्कोटमा सडक कालोपत्रे भएसँगै पौडेललाई बजारमा दूध पु¥याउन सहज भएको छ । कच्ची सडकका कारण धेरै वर्ष सास्ती भोग्यौं कृषक पौडेलले भन्नुभयो, ‘‘अहिले सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । सडक कालोपत्रे भएसँगै यस भेगका पशुपालक कृषकहरु खुसी भएका छन् ।’’

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा ग्रामिण सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्रे गरेपछि ग्रामिण भेगका स्थानीयहरुलाई आवतजावतमा सहज भएको हो ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारसँगको साझेदारीमा नगर क्षेत्रका विभिन्न स्थानहरुका ६ वटा सडक योजनाहरुमा गरेर दुई किलोमिटर ८४ मिटर सडक प्रिमिक्स प्रविधिको कालोपत्रे र एक किलोमिटर एकसय मिटर सडक ढलान गर्ने योजना संचालन गरेको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले जानकारी दिनुभयो ।

अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक स्तरोन्नति योजना अन्तर्गत बास्कोट देखि माथि तीनसय २६ मिटर सडक कालोपत्रे र ७५ मिटर ढलान गरेको छ । गण्डकी प्रदेश सरकारको लागत साझेदारीमा ५९ लाख ५२ हजार रुपियाँ बजेटबाट यो सडक स्तरोन्नति सम्पन्न भएको इन्जिनियर केसीले बताउनुभयो ।


बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर वडाका वस्तीहरुलाई जोड्ने महारानीथान–छापा–डाँडाखेत सडक योजनामा ५९ लाख ८५ हजार रुपियाँको बजेटबाट वडा नम्बर ६ को ढलेढुङ्गा–डाँडावारी खण्डमा चारसय ५२ मिटर कालोपत्रे र एकसय ३० मिटर सडक ढलान गरिएको छ ।

इन्जिनियर केसीका अनुसार सिंगा स्थित वडा नम्बर ४ को वडा कार्यालय जाने एकसय ६४ मिटर सडक १३ लाख रुपियाँ लागतमा कालोपत्रे गरिएको छ । नगरपालिकाले २५ लाख ६८ हजार रपियाँको बजेटबाट तातोपानी बजारमा तीनसय ६ मिटर सडक कालोपत्रे गरिएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।

यसैगरी एककरोड ३४ लाख रुपियाँ लागतमा बेनी–पाखापानी सडक योजना अन्तर्गत वडा नम्बर ६ अर्थुङ्गेको एक्लेपिपल देखि वडा नम्बर ९ को सिमाना किरोखोर सम्मको सडक चौढा,ग्रेड मिलाउने,नाली निर्माण,ग्यावियन झाली लगाउने लगायतका कामहरु गरेर सातसय मिटर कालोपत्रे र एकसय पचास मिटर ढालन गर्ने योजना छ । यो योजनाको सम्झौता मिति असार मसान्त सम्म भएपनि म्याद थपेर योजना सम्पन्न गरिनेबेनी नगरपालिकाका इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कालोपत्रेको काम अन्तिमचरणमा पुगेको छ ।

सडक बोर्डको बजेटबाट संगमचोक–हुलाचोक–हुँदै पुलाचौर सडक योजना अन्तर्गत एकसय ३२ मिटर कालोपत्रे र चारसय मिटर ढलान गर्ने योजना अनुसार ढलानको काम सम्पन्न भएको छ । उहाँका अनुसार यस योजना अन्तर्गत जिर्ण र जोखिमयुक्त सडक रहेको पुरुन्डे,एकपाटे र अवैचौरमा सडक ढलान गरिएको छ ।

ग्रामिण कच्ची सडकहरु स्तरोन्नति भएसँगै सर्वसाधरणहरुको यात्रा सहज हुनथालेपछि स्थानीय तहप्रति जनताको आशा बढेको बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो । उहाँका अनुसार ति सडकहरु डेढ दशक पहिला ट्रयाक खुलेका थिए ।

बेनी नगरपालिकाले ग्रामिण कच्ची सडकहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर संघीय र प्रदेश सरकारसँगको साझेदारीमा योजनाहरु सञ्चालन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘ विकासको पहिलो आधार नै सडक पूर्वाधार भएकाले नगर क्षेत्र भित्रका ग्रामिण कच्ची सडकहरुको स्तरोन्नति योजनालाई मुख्य प्राथमिकतामा राखेर नीति,कार्यक्रम र योजना बनाएका छौं । सडक स्तरोन्नति भएसँगै सर्वसाधरणहरु आवतजावत गर्न र स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने अपेक्षा छ ।’’

संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा केही सडक योजनाहरुमा बजेट कटौती गरेकाले सडक निर्माणलाई निरन्तरता दिन समस्या भएको उहाँको भनाई छ ।

‘‘अर्थुङ्गे–पुलाचौर–भुतपानी सडकलाई नगरपालिकाले दुईवर्ष अघि देखि कालोपत्रे गर्ने योजना अघि बढाएपनि आगामी आर्थिक वर्षका लागि बजेट कटौतीमा परेकाले आगामी वर्ष सडक कालोपत्रे योजना राकिने भयो,’’ उहाँले भन्नुभयो ।