तिन दिन पछि खुल्याे बेनी-दरबाङ सडक

विकल्प न्युज/ बेनी

असार २४ गते । पहिरोले अवरुद्ध भएको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रवार पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूरै बन्द भएको थियो। बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो।

पहिरो गएको ठाउँमा ग्यावियन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ। 

सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो। 

यसैबीच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोज्न म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिएका छन्। 

भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए।

फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताए। सडकदेखि करिब २ सय मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ। 

“यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सीधा यातायात सेवा प्रभावित हुने गरेको छ‚’ सांसद गर्बुजाले भने‚ ‘पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्।” रासस