पवित्राको उच्च शिक्षाका लागि गाउँपालिकाको सहयोग


विकल्प न्यूज/बेनी
असार २४ गते ।

दुवै हात नभएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले पचास हजार रुपियाँ सहयोग गरेको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा अध्ययनका लागि विकलाई समस्या भएको छ ।

दुवै हात नभएकी विकले हालै प्रकाशित भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)मा ३.१२ जिपिए ल्याएर उत्तिर्ण हुनुभएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको वैठकले पवित्रालाई शैक्षिक प्रोत्साहनका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

पोखराको रामबजार स्थित एसओएस हर्मन माइनर स्कुलकी छात्रा पवित्राले सहयोगीको सहायतामा एसइइमा सहभागी हुनुभएको थियो । पवित्रालाई पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगी ९ कक्षामा पढ्ने बिभूती पाण्डेले परिक्षामा लेख्नका लागि सहयोग गर्नुभएको थियो ।

बिशिष्ट प्रतिभा भएकी पवित्रालाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।
अंग्रेजी विषय लिएर शिक्षा संकाय पढ्ने योजना बनाएकी पवित्रालाई परिवारको कमजोर आर्थिक अवस्था चुनौति बनेको छ । पवित्राको साथमा आमा हुनुहुन्छ । बुवाले वेवास्ता गरेकाले पवित्राले संघर्ष गरेर कक्षा १० सम्मको अध्ययन गर्नुभएको हो ।
पवित्रालाई एसओएस हर्मन माइनर स्कुलले निशूल्क पठनपाठनको व्यवस्था मिलाएको थियो ।

एसओएस बालग्रामको फ्यामीली सपोर्ट कार्यक्रम मार्फत पवित्रालाई उच्च शिक्षा अध्यनका लागि सहयोग गर्न पहल गरेको प्रअ चुडामणी सुवेदीले बताउनुभयो । पवित्राको देब्रे हातै छैन । दाहिने हातको कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ । हात बाहेक अन्य शारिरिक अवस्था राम्रो छ ।

हात नभए पनि उहाँले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेखेर एसइइ उत्तिर्ण सम्मको अवस्थामा आइपुग्नुभएको हो । स्कुलले बसेर खुट्टाले लेख्न मिल्ने गरी टेबुलको व्यवस्था मिलाउने गरेको थियो ।

बाबुआमाको बेमेलबीच पनि उहाँले हिम्मत नहारिकन अध्ययनलाई निरन्तरता दिनुभएको छ । छोरीको उच्च शिक्षा अध्ययन गर्ने रहरलाई पुरा गरिदिन आमा कृष्णा विकले सबैसँग सहयोगको अपिल गर्नुभएको छ ।