बेनीमा रावण पार्क र प्रतिमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

विकल्प न्यूज/बेनी
असार २३ गते ।

सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय र नगरपालिकाको ७०÷३० को सहकार्य रावणको मूर्तिसहित पार्क निर्माण हुन लागेको पार्कलाई सर्वोच्चले रोक्न आदेश दिएको हो ।

२०७७ सालमा सुरु भएको काम बिचमा केही समय रोकिएपनि पछिल्लो समय निर्माण कार्य चलिरहेको थियो । पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने, पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजनासहित नगरपालिकाले योजना अगाडि बढाएको थियो ।

उक्त योजनाविरुद्ध पर्वतका केदारनाथ दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बेनी नगरपालिका, पुलत्स्य–पुलाहश्रम क्षेत्र विकास कोषलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्माण गर्न लागेको रावणपार्क निर्माणको कार्य तत्काल नरोकिएमा गैर संवैधानिक रुपमा राष्ट्रको रकम खर्च भई दुरुपयोग हुन जाने र वासिन्दाले पवित्र तीर्थस्थल पूण्यभूमिको संरक्षण संवर्धन र पूजासेवा गर्दै आएको तपस्या खण्डित हुने र धार्मिक एवं सामाजिक सद्भाव समेत खल्बलिने भई निवेदकको निवदेनको औचित्य समाप्त हुने भन्दै मुद्दाको अन्तिम किनारा नभएसम्म पार्क निर्माण गर्ने अन्तरिम आदेश जारी गर्न माग गर्दै दासले असार १८ गते सर्वोच्चमा निवेदन दिएका थिए । बनाउन लागिएको रावण पार्कमा रावणको मूर्ति आइसकेको छ ।