खबरा खानेपानी आयोजनामा ठेकेदारको लापरबाही


ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार २२ गते ।


बेनी नगरपालिका २ को खबराको वस्तीमा पिउने पानी उपलब्ध गराउन चार वर्ष देखि खबरा खानेपानी आयोजना निर्माणधिन छ । संघीय सरकारको बजेटबाट बेनी नगरपालिकाले ठेक्का मार्फत योजना निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष सम्म आइपुग्दा तीनवटा ठेक्का मार्फत योजना निर्माण भइरहेको छ । अहिले सम्म एक करोड ३१ लख ७२ हजार चारसय ४३ रुपियाँ खर्च भइसकेको छ ।
निर्माण व्यवसायीको लापरबाही,प्राविधिकको नियमित अनुगमन र जनप्रतिनिधिको वेवास्ताका कारण खबरा खानेपानी आयोजनाको गुणस्तर कमजोर छ । कमजोर गुणस्तरका कारण खबरा खानेपानी आयोजना दिगो हुनेकुरामा शंका छ । अर्को तर्फ संघीय सरकारबाट आगामी आर्थिक वर्षका लागि बजेट कटौती गरेकाले आयोजना अधुरो हुने जोखिम बढेको छ ।


खबरा गाउँदेखि माथि मुलछरीको पानीको मुहानबाट पानी ल्याएर खबराका करिब दुईसय पचास घरधुरीमा निजी धारा मार्फत पानी वितरण गर्ने योजना हो । योजना अन्तर्गत ५० हजार क्षमताका दुईवटा रिर्जभ ट्याङ्की,३५ वटा वितरण च्याम्बर र ५ वटा डिसीलाइन निर्माण गरिएको छ ।
पाइपलाइन,डिसी लाइन र वितरण च्याम्बर निर्माणमा ठेकेदारको लापरबाही गरेको देखिन्छ । पाइप जडान कमजोर देखिएको छ । च्याम्बर निर्माण गर्दा कमसल सामाग्रीको प्रयोग गरेको पाइएको छ ।
पाइपहरुको राम्रोसँग फिटिङ तथा जडान नहुँदा धेरै स्थानबाट पानी चुवावट भएको छ । खबराका एकसय ८० घरधुरीमा निजी धारा निर्माण गरिएको छ । अहिले स्थानीयहरुले धारामा पानी सञ्चालन गरेका छन् । खबराका सबै घरधुरीमा पानी पु¥याउन अझै ५० वटा धारा निर्माण गर्नुपर्ने हुन्छ ।
ठेकेदारको लापरबाही,नगरपालिकाको प्राविधिकको नियमित अनुगमन नहुनु र कमशल सामाग्रीको प्रयोगका कारण आयोजना निर्माण कमजोर भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर कुँबरले बताउनुभयो ।

योजना सम्पन्न भयो भनेर भनिएको छ तर राम्रो बनेन् उहाँले भन्नुभयो, ‘‘योजना निर्माणमा ठेकेदारको लापरबाही देखियो । मेनलाइनको पाइप राम्रो सँग गाडिएको छैन् । मुहान देखि ट्याङ्की सम्मको पाइपलाइन राम्रोसँग पुर्नेकाम नहुँदा आगलागी भएर जल्यो । कमशल सामाग्रीको प्रयोग गरेर संरचनाहरु निर्माण गरेकाले पानी संचालन नहुँदै संरचनाहरु जिर्ण भइसकेका छन् । पाइपहरुको फिटिङ राम्रो सँग भएको छैन । धेरै ठाउँबाट पानी चुवावट भएको छ ।’’
पानीको मुहान देखि रिर्जभ ट्याङ्की सम्मको ठेक्का लिएको हिमालयन खुसी होम विल्डर्स जेभीले सम्झौता अनुरुप योजनामा काम नगरेर उपभोक्तालाई दुःख दिएको स्थानीयहरुको भनाई छ ।
योजना सम्पन्न गर्न तिन आर्थिक वर्षमा फरक फरक ठेक्का सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०७८÷०७९ का लागि भ्याट सहित ८७ लाख ९९ हजार दुईसय ७७ रुपियाँ लागत अनुमान गरिएकोमा ६२ लाख ११ हजार एकसय ६५ रुपियाँमा खुसीहोम विल्डर्ससँग ठेक्का सम्झौता गरिएको थियो ।
पहिलो वर्ष इन्टेक निर्माण,पचास घनमिटरको आरसीसी ट्याङ्की,घेराबार फिटिङ, वितरण च्याम्बर ३० वटा, तीनवटा ब्रेक प्रेसर च्याम्बर,मुख्य पाइपलाइन र वितरण लाइन निर्माण गरिएको बेनी नगरपालिकाका सब इन्जिनियर कमल थापामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रो वर्ष २०७९\०८० मा भ्याट सहित ५४ लाख ३७ हजार ६ सय २२ रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा श्रमजिवी निर्माण सेवा सँग ४२ लाख २७ हजार सातसय २९ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । पचास घनमिटरको आरसीसी ट्याङकी, ६० वटा निजी धारा र घरघरमा जाने पाइपलाइन गरिएको थियो ।
यसैगरी चालु आर्थिक वर्षमा ३८ लाख ८८ हजार ९ सय ६३ रुपियाँ लागत अनुमान गरिएकोमा २७ लाख ३३ हजार पाँससय ४९ रुपियाँमा बानियाँ निर्माण सेवा सँग ठेक्का सम्झौता गरिएको थियो । योजनामा एकसय २० वटा धारा निर्माण र फिटिङ सहित पाँचसय मिटर पाइपलाइनको भएको छ ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारले बजेट कटौती गरेकाले आयोजनाले पूर्णता नपाउने भएको हो । खबरा खानेपानी आयोजनालाई पूर्णता दिन अझै हामीलाई करिब ४४ लाख रुपियाँ आवश्यक पर्दछ बेनी नगरका प्रमुख सुरत केसीले भन्नुभयो, ‘‘संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट कटौती गरिदिएको छ । बजेट नआउँदा आयोजना अपुरो हुने चिन्ता छ ।’’ आयोजना निर्माण सुरु भएदेखि नै ठेकेदार पक्षबाट लापरबाही हुँदै आएको उहाँको भनाई छ ।

खबरा खानेपानीमा देखिएका समस्याहरु
निर्माण पक्षको लापरबाही
कमशल सामाग्रीको प्रयोग
मुख्य पाइपलाइन र वितरण लाइन राम्रोसँग नपुरिएको ।
वितरण च्याम्बरहरु निर्माण गर्दा कमशल सामाग्रीको प्रयोग ।
आयोजना सम्पन्न नहुँदै संरचनाहरु जिर्ण भएका ।
पाइपलाइनको राम्रोसँग फिटिङ नभएको ।
आयोजना कार्यान्वयन गर्ने निकायबाट नियमित रुपमा अनुगमन र निरक्षणको कमी ।
उपभोक्ताबाट पनि नियमित रुपमा अनुगमन र सम्बन्धित निकायमा जानकारी नगराउनु ।