बेनीको प्रकाश माविमा विद्यार्थीलाई कपाल काट्ने तालिम


ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार २२ गते ।

विद्यार्थीलाई पढाईका साथै व्यवहारिक सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाईका साथै विद्यार्थीको रोजाई अनुसारको सीपमुलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले संचालन गरेको ‘‘हामी सक्छौं,हामी गछौं ’’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका तीसजना विद्यार्थीहरुलाई कपाल काट्ने सीप सिकाएको हो । सीप सिकेका विद्यार्थीहरुले राम्रोसँग कपाल काट्न सक्ने भएका छन् ।
एक महिना सम्म सञ्चालन भएको तालिमबाट विद्यार्थीहरुले अहिले कपाल काट्न सिकेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउने उद्देश्यले विभिन्न तालिमहरु संचालन गरिरहेको छ । विद्यार्थीलाई किताबी ज्ञानले मात्र नभई व्यावहारिक ज्ञान पनि आवश्यक पर्ने भएकाले नगरपालिकाले व्यावहारिक र जीवनोपयोगी प्राविधिक ज्ञान सीप प्रदान गर्न कार्यक्रम संचालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।


तालिममा विद्यार्थीहरुलाई कागज काटेर कैंची चलाउन सुरु गरिएकोमा दुई साताको अवधिमा विद्यार्थीहरु कपाल काट्न सिपालु भैसकेका छन् । नियमित पठनपाठन पश्चात साँझको समयमा दैनिक दुई घण्टा कपाल काट्ने तालिम सिकेका विद्यार्थीहरुलाई अहिले विद्यालमा अध्ययनरत विद्यार्थीहरुको कपाल काटेर अभ्यस्त गराउन थालिएको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘तालिम निकै उपयोगी भएको छ । सीप सिकेका विद्यार्थीहरुले आफ्ना साथीहरुको कपाल काट्न थालेका छन् ।’’
सुरुवातमा कैंची समाउन र चलाउन समेत कठिन मान्ने विद्यार्थीहरु विस्तारै कपाल काट्न पोख्त भइसकेको तालिमका प्रशिक्षक अभिषेक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ अहिले १० कक्षा सम्मका बालबालिकाहरुले कपाल काट्न सिक्नुभएको छ । तालिम लिन कक्षा ११ र १२ का विद्यार्थीले पनि इच्छा गरेकाले उनीहरुका लागि पनि तालिम संचालन गर्ने योजना छ ।’’ तालिममा अधिकांश छात्राहरु सहभागी भएको उहाँको भनाई छ ।

भविष्यमा व्युटिसियन बन्ने लक्ष्य रहेकाले आफुले कपाल काट्ने तालिममा सीप सिक्न थालेको कक्षा ८ का छात्रा सरुना पुनले बताउनुभयो । उहाँले कपाल काट्ने सीपले आफुलाई भविष्यमा व्यावसायिक बन्ने बाटो खोल्ने समेत बताउनुभयो ।
विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त उनीहरुका रुचि र क्षमताको पहिचान र दक्षता विकास गराउन विद्यालयले सीपमुलक कार्यक्रमहरुलाई अघि बढाएको प्रअ हमालले बताउनुभयो ।
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई नगरपालिकाले सीपमुलक तालिम सञ्चालन गर्नका लागि एक÷एक लाखका दरले बजेट उपलब्ध गराएको छ । यस बर्ष नगरपालिकाले सञ्चालन गरेको ‘‘हामी सक्छौं,हामी गछौं ’’ कार्यक्रम अन्तर्गत पेन्टिङ, पलम्बीङ, हाउस वायरिङ, कपाल काट्ने लगायतका सीपमुलक तालिम प्रदान गरेको छ । तालिम सिकेका विद्यार्थीहरुले घरपरिवार र छरछिमेकमा पर्ने सानातिना समस्याहरु समाधान गर्ने गरेका छन् । दुईवर्षको अवधिमा करिब दुईहजार विद्यार्थीहरुले व्यवहारिक सीपमुलक तालिम लिएका छन् ।
नगर प्रमुख केसीले भन्नुभयो, ‘‘विद्यार्थीको रोजाई अनुसारको क्षेत्र छनौंट गरेको विद्यालयले नगरपालिका सँग कार्यक्रमको सम्झौता गर्दछ । कार्यक्रम संचालन गर्न हामीले प्रति विद्यालयलाई एकलाख रुपियाँ उपलब्ध गराएका छौं ।’’ कक्षा १२ पास गरेर विद्यालयबाट विदाई हुँदा केही न केही सिकेर जाओस भनेर नगरपालिकाले सीपमुलक कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई छ ।
विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीप पनि सिक्न आवश्यक छ नगर प्रमुख केसीले भन्नुभयो ‘‘सीप सिकेका विद्यार्थीहरुले आफ्नो घरायसी काम गर्नुका साथै गाउँसमाजमा समेत सहयोग पु¥याएका छन् ।’’
‘‘उच्च शिक्षा पास गरेपछि केही न केही सीप सिकुन भनेर अभ्यास गरेका छौं । कतिपय विद्यार्थीहरु व्यवसायिक पनि बनेका उदाहरण छन्,’’नगरप्रमुख केसीले भन्नभुयो । दुईहप्ताको पलम्बिङ सम्बन्धि तालिम दिएको बेनी नगरपालिका ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले तालिमबाट सीकेको सीप विद्यार्थीहरु गाउँघरमा प्रयोगमा समेत ल्याउन थालेको बताउनुभयो ।
‘‘ तालिमबाट सीकेको सीप विद्यार्थीहरुले प्रयोगमा ल्याउन थालेका छन् । गाउँघरमा खानेपानीका योजनाहरुमा सामान्य मर्मत सम्भार गर्न थालेका छन्,’’ उहाँले भन्नुभयो ।