विकल्प न्यूज/बेनी
असार २२ गते ।
बेनी नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका ग्रामिण भेगका ७ वटा विद्यालयको कक्षा समायोजन गरेको छ । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । बसाईसराई,निजी विद्यालयप्रतिको आकर्षण र ग्रामिण भेगका सामुदायिक विद्यालयको व्यवस्थापन फितलो भएका कारण विद्यार्थी संख्या घटेको हो ।
चालु आर्थिक वर्षमा ७ जना भन्दा कम विद्यार्थी संख्या भएका आधारभूत विद्यालयहरुको कक्षा समायोजन गरेर त्यहाँ अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई अर्को विद्यालयमा व्यवस्थापन गरिएको बेनी नगरको शिक्षा शाखाले जनाएको छ । गत आर्थिक वर्षमा पनि बेनी नगरले ११ विद्यालयको कक्षा समायोजन गरेको थियो ।
कक्षा ४ सम्मको पढाइ हुने चेतना आधारभूत विद्यालयमा कक्ष समायोजना गरेर कक्षा १ सम्म झारेर १ जना शिक्षकलाई बेनी सामुदायिक माविमा व्यवस्थापन गरिएको छ । बेनपा–९ को पद्यमबराह आधारभूतलाई १–५ बाट कक्षा १ सम्म झारेर त्यहाँका शिक्षकलाई बराह आधारभूतमा पठाइएको छ ।
१–५ बाट १–३ मा झारिएको ढोलथान आधारभूतका २ जना शिक्षकको दरबन्दी भने सोही विद्यालयमा कायम गरिएको छ । १–८ बाट १–५ कक्षामा झरेको बेनपा–२ को हंशबाहिनी आधारभूत विद्यालयका १ जना शिक्षकलाई बालमन्दिर र १ जनालाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको बेनी नगरका शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेले बताउनुभयो ।
१–५ बाट १–३ मा झारिएको गणेश आधारभूत विद्यालय बेनपा–५ का २ जना शिक्षकलाई प्रकाश मावि र सरस्वती मावि तातोपानीमा व्यवस्थापन गरिएको छ । १–५ बाट १–३ मा झारिएको जगन्नाध आधारभूत विद्यालयमा २ जनामा शिक्षक राखिएको छ । १–५ बाट १–३ मा झरेको बेनपा–४ थामडाँडाको भृकुटी आधारभूतका १ जना शिक्षकलाई भूमे आधारभूतमा स्थानान्तरण गरिएको छ ।
समायोजन भएका विद्यालयका विद्यालयका विद्यार्थीलाई नजिकैको अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको र नजिकै अर्को विद्यालय नभएका ठाउँका बालबालिका शिक्षाबाट बञ्चित नहोउन भनेर कक्षा समायोजन नगरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । ग्रामिण भेगका विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै जानु चिन्ताको विषय भएकाले नगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक योजना बनाउन थालेको उहाँको भनाई छ ।