अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका वितरण

विकल्प न्युज/ बेनी

जेठ २७ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ।

१० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो ।

गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागत साझेदारीमा बोका वितरण गरेको पशु शाखा प्रमुख रमेश केसीले बताए ।

गाउँपालिकाले साना तथा मझौला किसान लक्षित गरी सञ्चालन गरेको कार्यक्रममा किसानले खरिद गरेको बोकाको लागतमा ५० प्रतिशत अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीको भनाई छ ।

यसअगाडी समेत बाख्रापालनमा सक्रिय किसानको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

समान्य बाख्रापालन किसानले खरिद गर्न नसक्ने बोयर बोकामा गाउँपालिकाले अनुदान दिएपछि सहज भएको नारच्याङ कोेप्चेपानीमा तुलाराम बुढाको भनाई छ ।

बोयर जातको बोका वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरतकुमार पुन, वडा नं २ का वडा अध्यक्ष ओमप्रसाद फगामी, वडा नं वडा नं ३ का वडा अध्यक्ष रमेश पूर्जा, वडा नं ४ कार्यवाहक अध्यक्ष भिम शेरपुञ्जा, ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा गाईपालनमा सक्रिय किसानलाई २० थान म्याट समेत वितरण गरिएको थियो ।