ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ २५ गते ।
म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् ।
हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि स्वदेशी र विदेशी गरी तीन समुहका २२ पुरुष र आठ जना महिला गरी ३० जना आरोहीले अनुमति लिएका थिए ।
यो वर्ष धवलागिरि हिमालको मौसम प्रतिकुल रहयो आरोहीहरुको व्यवस्थापनमा खटिनुभएका अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भन्नुभयो ‘‘धवलागिरि आरोहणका लागि आरोहीहरु आधार शिविरमा पुगेका थिए । त्यहाँको मौसम निकै उतारचढाव भइरहयो । प्रतिकुल मौसमका कारण सबै आरोहीहरु आधार शिविरबाट फर्किएका छन् ।’’
ADV
आरोहणका लागि मौसमले साथ नदिएपछि आरोहणमा गएका आरोही,शेर्पा तथा भरिया फर्किसकेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष धवलागिरिमा आरोहण अनुमति दिएबापत ७१ लख ७० हजार ७५० रुपियाँ दस्तुर संकलन भएको छ । गत वर्षको वसन्तयाममा चार समुहका १२ महिला सहित ३७ जनाले धवलागिरि हिमालको आरोहण गरेका थिए । त्यस्तै गत वर्षको शरद ऋतुमा चार समुहका १२ पुरुष ११ महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।
धवलागिरि हिमालको मौसम छिटोछिटो उतारचढाब भइरहने भएकाले हिमाल आरोहणका लागि निकै जोखिमयुक्त मानिन्छ । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल वसन्तयाममा २४ जनाले अनुमति लिएकोमा १५ जनाले आरोहण गरेका छन् ।