विकल्प न्यूज/बेनी
जेठ २५ गते ।
बेनी नगरपालिका ८ स्थित कालिपुल क्षेत्रको मुख्य सडक असफाल्ट प्रविधिको कालोपत्रे हुने भएको छ । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्तर्गत पर्ने यो सडकलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालिगण्डकी पुल देखि पाँचसय मिटर अगाडी सम्म असफाल्ट प्रविधिको कालोपत्रे गर्ने भएको हो ।
सडक कालोपत्रे गर्नका लागि करिब एककरोड रुपियाँ लागत अनुमान सहित आयोजनाले एकहप्ता अघि ठेक्का आह्वान गरेको आयोजनाका इन्जिनियर अच्युत पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बसपार्क क्षेत्रको सडक असफाल्ट प्रविधिको कालोपत्रे गर्ने गरी ठेक्का आह्वान भइसकेको छ । यसै आर्थिक वर्षभित्र ठेक्का सम्झौता भएर काम सुरु हुन्छ ।’’ पाँचमहिना भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
सदरमुकाम बेनी प्रवेशद्धारका रुपमा रहेको कालिपुल क्षेत्रको सडक जिर्ण हुँदा जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुको आलोचना हुँदै आएको थियो । मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुले समेत वसपार्क स्थित सडक हिउँदमा धुलो,बर्खायाममा हिलो र सडकमा परेका खाल्टाखुल्टीका कारण सास्ती भोग्दै आएका छन् ।
ADV
विहिबार बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम र योजनाका लागि सुझाव लिन सरोकारवालाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुल क्षेत्रको सडक असफाल्ट प्रविधिको कालोपत्रे गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । ‘‘कालिपुल स्थित सडकको जिर्ण अवस्थाले हामी सबैलाई गिज्याइरहेको थियो । अब त्यस सडक चाँढै नै असफाल्ट प्रविधिको कालोपत्रे हुन्छ,’’ उहाँले भन्नुभयो ।