बेनीको मुक्तिनाथ सहकारीले सुरु गरेको योग अभ्यासको निरन्तरता

विकल्प न्यूज/बेनी
जेठ २४ गते ।

म्याग्दीको बेनी नगरपालिका ८ स्थित न्यूरोडमा संचालित मुक्तिनाथ बहुउश्यीय सहकारी संस्थाले सुरु गरेको योग अभ्यासलाई निरन्तरता दिइएको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई गत वैशाख २८ गते देखि जेठ १ गते सम्म योग प्रशिक्षण सुरु गरेको थियो ।

सेयर सदस्यहरुको मानसिक,शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि सुरु गरेको योग प्रशिक्षणले निरन्तरता पाएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । बेनी स्थित होटल शिखरको सभाहलमा दैनिक रुपमा डेढ घण्टा योग अभ्यास संचालन भइरहेको उहाँले बताउनुभयो ।

५ दिन सम्म सञ्चालन भएको योग प्रशिक्षणले मानिसको जीवनमा योग अभ्यास अनिवार्य रुपमा आवश्यक भएको अनुभूति भयो उहाँले भन्नुभयो, ‘‘पाँचदिनको योग प्रशिक्षण प्रश्चात सेयर सदस्यहरुले निरन्तरता दिन सुझाव दिनुभयो । अहिले दैनिक रुपमा २५ देखि ३० जना सम्म योग अभ्यासमा आउनुभएको छ । केही शुल्क लिएर संचालन गरेका छौं ।’’

हरेक विहान ५ बजेदेखि साढे ६ बजे सम्म योग अभ्यास हुने उहाँले जानकारी दिनुभयो । बेनीमा रहेको नविन योग आनन्द केन्द्रका संस्थापक नविन जुग्जाली, प्रशिक्षक दुर्गा शर्मा र दिपेन्द्र विश्वकर्माले सुरुमा योगका बारेमा प्रशिक्षण दिनुभएको थियो । पाँचदिन सम्म सञ्चालन भएको उक्त प्रशिक्षणमा उहाँहरुले योग अभ्यासको सैद्धान्तिक र व्यवहारिक विषयमा सिकाउनुभएको थियो ।

अहिले केन्द्रको प्रशिक्षक शर्माले नियमित रुपमा योग अभ्यास गराउँदै आउनुभएको उहाँले बताउनुभयो । स्वस्थकर जीवनशैलीका लागि योग आवश्यक भएको सहकारीका अध्यक्ष गौतमले बताउनुभयो । ‘हरेक मानिसका लागि योग अनिवार्य जस्तो रहेछ । योगका वारेमा जान्ने र बुझ्ने अवसर मिल्यो,’ उहाँले भन्नुभयो ।

बेनीमा बेनी नगरपालिका ७ नम्बर वडा कार्यालय,नविन आनन्द योग केन्द्रले नियमित रुपमा योग अभ्यास गराउँदै आएका छन् । पछिल्लो समय बेनीमा योगप्रति आकर्षण बढेको छ ।