महिलालाई स्वरोजगार बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम

विकल्प न्यूज/बेनी
जेठ २४ गते ।


जिल्लाको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनै ढाका बुनाई तालिम सञ्चालन गरेको हो । आवासीय सुविधा सहित आयोजना गरिएको तालिममा ८ जना महिलाहरु सहभागि भएका छन् ।

स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन कृषि,ब्युटिसियन लगायतका तालिमहरु पनि संचालन गरेको उहाँको भनाई छ । तालिममा महिला उद्यमी लिला पुनले सहजीकरण गर्नुभएको छ । तालिममा ढाकाको कपडा तयार पार्ने र टोपी,सल,साडी,झोला लगायतका सामाग्रीहरु बनाउन सिकाउने प्रशिक्षक पुनले जानकारी दिनुभयो ।

ADV

पछिल्लो समय ढाकाबाट तयार पारिएका कपडाहरुको माग बढ्न थालेकाले स्थानीय स्तरमा महिला उद्यमीहरु तयार पार्न तालिमले सहयोग पुग्ने उहाँको भनाई छ । म्याग्दीमा उत्पादन भएको ढाकाको कपडा युरोप,अमेरिका लगायतका अन्य मुलुकहरुबाट माग आउने भएकाले आवश्यकता अनुसार उत्पादन गर्न नसकिएको उहाँको बताउनुभयो ।

म्याग्दीबाट मात्र वार्षिक रुपमा २५ देखि ३० लाख रुपियाँ बराबरको ढाकाको कपडा विदेश निर्यात हुने गरेको उहाँको भनाई छ । परिश्रम गर्नसके यसबाट राम्रो आम्दानी लिन सकिन्छ प्रशिक्षक पुनले भन्नुभयो, ‘‘कपडाको माग धेरै आउने गरेको छ । उद्यमी नहुँदा माग अनुसार पु¥याउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ ।’’

महिलाहरु सीप सिकेर उद्यम व्यवसाय गरी आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सविना थापाले बताउनुभयो । तालिम र उपकरण सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ७ लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो । तालिम लिएका महिलाहरुलाई ७५ प्रतिशत अनुदानमा ढाका बुन्ने मेशिन प्रदान गरिने उहाँले बताउनुभयो ।