प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अन्नपूर्णमा ११ योजना सम्पन्न

विकल्प न्यूज/बेनी
जेठ २४ गते ।


प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । कार्यक्रम मार्फत संचालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयवासीहरुको यात्रा सहज भएको छ ।

चालु आर्थिक वर्षमा उक्त योजनाहरु संचालन गर्नका लागि गाउँपालिकालाई ५६ लाख ८५ हजार रुपियाँ प्राप्त भएको थियो । कार्यक्रम अन्तर्गत रोजगारीका लागि फाराम भरेका सातसय २९ जना मध्य ८८ जनाले कम्तीमा ३९ दिनदेखि बढीमा एकसय दिनसम्मको रोजगारी पाएको गाउँपालिकाको रोजगार शाखाका संयोजक सुमित्रा गैरे पौडेलले जानकारी दिनुभयो ।
रोजगार कार्यक्रम मार्फत दोबा गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार,पाती चढाउने देखि चिसो पानी सम्म गोरेटो तथा मर्मत सम्भार,बाँझो खर्क देखि बाँझो ढुङ्गा सम्म गोरेटो बाटो निर्माण,किम्ली बराह जाने बाटो मर्मत सम्भार,जरिवाङ देखि छेम्दी सम्म गोरेटो बाटो निर्माण र गुइठे पुल देखि पटार सम्मको बाटो निर्माण तथा मर्मत योजना सम्पन्न भएको छ ।

ADV

यसैगरी घारखोला नेपाने देखि पाउद्धार मोटरबाटो सोलिङ निर्माण,अन्नपूर्ण होटल देखि फलेख घरको गेट सम्म पदमार्ग मर्मत,कोलालिबाङ गोरेटो बाटो निर्माण,थपना सडक तथा गोरेटो बाटो मर्मत सम्भार र छहरे आलडाडाँ गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार योजना सम्पन्न भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम संचालन भएका वस्तीहरुमा ढुङ्गाको सिँढी बनाउने,सडक सोलिङ, गोरेटो बाटो तथा पदमार्ग निर्माण गरिएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो । योजनामा संलग्नहरुलाई प्रतिदिन सातसय चार रुपियाँका दरले ज्याला भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् ।