ठाकुरप्रसाद आचार्य
जेठ २० गते ।
बागलुङ नगरपालिका ४ कुडुलेको तिरुपतीचोक देखि मालिका–पञ्चकोट हुँदै काठेखोला जोड्ने रिङरोड कालोपत्र भएको छ । सडक कालोपत्र भएसँगै हिलो,धुलो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेपछि स्थानीयहरु हर्षित भएका छन् ।
बागलुङ नगरपालिका देखि काठेखोलाका वस्ती हुँदै कालिगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग सँग जोड्ने गरी क्षेत्रीय रिङरोडको परिकल्पना गरेर चारवर्ष अघि उक्त सडक स्तरोन्नति थालिएको थियो । सडकले बागलुङ नगरपालिका र काठेखोला नगरपालिकाका अधिकांश ग्रामिण वस्तीहरुलाई जोडेको छ ।पहिलो चरणमा कुडुले देखि पर्यटकीय गन्तव्य पञ्चकोट हुँदै बागलुङ नगरपालिका ७ को माझकोट सम्मको १४ किलोमिटर सडक हालै कालापत्रे गरिएको छ ।
दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्नुपर्नेमा यो सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुईवर्ष ढिला गरेर सडक कालोपत्र योजना सम्पन्न भएको बागलुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रदेश सभा क्षेत्र नम्बर ख अन्तर्गतका धेरै वस्तीहरुलाई सडक सञ्जालसँग जोड्न क्षेत्रीय रिङरोडको परिकल्पना गरेर सडक स्तरोन्नति थालिएको हो । पहिलो चरणमा भएको १४ किलोमिटर सडक कालोपत्रले बागलुङ नगरपालिकाका ४ देखि ७ नम्बर वडा सम्मका स्थानीयहरु लाभान्वित भएका छन् ।’’
सडक कालोपत्र भएपछि वर्षौ देखि धुलो र हिलो सडकका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा सुरक्षित,छोटो र भाडादर सुलभ भएपछि स्थानीयवासीहरु खुसी भएको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालयले विसं २०७६ असोज २८ गते कुडुले फेदीदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलोमिटरमा कालोपत्र गर्न काष्ठमण्डप कन्ट्रक्सन प्रा,लि सँग ठेक्का सम्झौता गरेको थियो ।
सडक निर्माण अलपत्र पारेर दुईवर्ष सम्म सम्पर्कविहीन भएको ठेकेदार सरोकारवालाहरुको दबाबका कारण काममा फर्किएर सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।
तीनपटक सम्म सम्झौताको म्याद थप गरेर सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेले जानकारी दिनुभयो । निर्माण व्यवसायीलाई पटक–पटक पत्र पठाउँदा पनि काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच काम गर्ने प्रतिबद्धता जनाएपछि निर्माणले गति लिएको उहाँको भनाई छ ।
प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सडक कालोपत्र भएपछि बागलुङ नगरपालिकाका बान्द्रे,धुरपुला,खड्का चौर,चनौटे,पञ्चासे,भेडिखाल्टा,पञ्चकोट,कारिकोट,माझकोट सम्मका स्थानीयहरु लाभाविन्त भएका छन् ।
रिङरोडले बागलुङ नगरपालिकाका ४ देखि १४ वडा सम्म र काठेखोला गाउँपालिकाका सबै वडाहरुलाई समेट्दै कालिगण्डकी कोरिडोर र महध्यपहाडी लोकमार्गलाई समेत छुने भएकाले विशेष महत्वको सडक अन्तर्गत राखेर गण्डकी प्रदेश सरकारले सडकको स्तरोन्नति सहित कालोपत्र योजना अघि बढाएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख घिमिरेले बताउनुभयो ।