जलजलामा टोलविकास संस्थाका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम सुरु

विकल्प न्यूज/जलजला
जेठ २० गते ।

पर्वतको जलजला गाउँपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालेको छ ।
टोल विकास संस्थाको कोष व्यवस्थापन,आवश्यकता,उद्देश्य र भूमिकाका वारेमा प्रशिक्षण गरेर प्रभावकारी रुपमा वडाको विकासमा परिचालन गर्न तालिमको आयोजना गरिएको हो ।
शनिबार गाउँपालिकाको वडा नम्बर ६ सालिजामा तालिमको उद्घाटन गर्दै पालिका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिका भित्र गठन भएका टोल विकास संस्थाहरुको समग्र वडाको विकासका लागि महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो ।

टोल विकास संस्थालाई वडाको विकासमा प्रभावकारी रुपमा परिचालन गर्न तालिमले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । टोल विकास संस्थाहरुले गाउँपालिकाले प्रवाह गर्ने सेवा प्रवाहका वारेमा पनि गाउँसमाजमा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने उहाँको भनाई थियो ।

तलिममा सालिजामा गठन भएका १२ वटा टोल विकास संस्थामा आवद्ध अध्यक्ष,सचिव र कोषाध्यक्षको सहभागिता रहेको गाउँपालिकाका सामाजिक विकास अधिकृत तथा तालिमका सहजकर्ता भेषनाथ आचार्यले जानकारी दिनुभयो । एकदिन सम्म सञ्चालन भएको तालिममा सामाजिक विकास अधिृकत आचार्य,वडा नम्बर ५ लेखफाँट टोल विकास संस्थाका वडा संयोजक ओमप्रसाद रेग्मी,सामाजिक विकास सहजकर्ता पवित्रा खत्रीले तालिममा सहजीकरण गर्नुभएको थियो ।

तालिम उद्घाटनको सञ्चालन सहजकर्ता खत्री, टोल विकास संस्थाका वडा संयोजक दिपक सापकोटाको स्वागत र वडाध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको थियो । तालिमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति पर्वतका सदस्य केशुकुमारी सुवेदी लगायतको उपस्थिति रहेको थियो । ९ वटै वडामा गठन भएका टोलविकास संस्थाका पदाधिकारीहरुलाई क्रमशः तालिम दिन थालिएको सामाजिक विकास अधिकृत आचार्यले जानकारी दिनुभयो ।