रघुगंगा ३ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

विकल्प न्यूज/बेनी
जेठ १९ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ नम्बर वडा कार्यालयले कृषिमा यान्त्रिकरण गर्न कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर ९मिनिटेलर हलो० वितरण गरिएको हो ।
वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ बार्षिक स्विकृत कार्यक्रम अन्तरगत ३८ जना कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडा अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयले हाते ट्याक्टर माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको वडा अध्यक्ष शाहीले बताउनुभयो ।

‘‘ रु ४० हजार मूल्यका हाते ट्याक्टरमा कृषक र गाउँपालिकाले रु २०÷२० हजारको दरले साझेदारी भएको छ, छिटै व्यवसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुलाई प्लाष्टिक टनेल समेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौँ’’– वडा अध्यक्ष शाहीले भन्नुभयो । शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आईती दर्जी लगायतले कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्नुभएको थियो ।
यस बर्ष कृषि प्रर्वद्र्धन कार्यक्रम अन्तर्गत रु ८ लाख ५० हजार बजेटबाट ३८ जनालाई हाते ट्याक्टर र २५ जनालाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने प्रचलन हराएर जान थालेको र खेतवारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत भएको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताउनुभयो ।
‘‘ गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्याक्टर निकै उपयोगी उपकरण बनेको छ, हिउँदे र बर्खे दुबै खेती लगाउन हाते ट्याक्टरले समय र खर्चको समेत मितव्ययिता हुन्छ’’– उहाँले भन्नुभयो । म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतवारी जोत्ने प्रचलन हराएको छ भने हाते ट्याक्टर लगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।
हाते ट्याक्टरले छोटो समयमा धेरै खेतवारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झण्झट नहुने पिप्लेका युवा कृषक प्रकाश शर्माले बताउनुभयो । सडक सञ्जालको पहुँच विस्तार भएसंगै जिल्लाको ग्रामीण भेगमा खेतवारी जोत्ने काममा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।