बेनपा ६ मा मादल बजाउने सिपमुलक तालिम सुरु

विकल्प न्यूज/बेनी
जेठ १८ गते ।


म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको ज्ञान मन्दिर सामुदायिक सिकाई केन्द्रको आयोजना र बेनी नगरपालिकाको सहयोगमा ४ दिने मादल बजाउने सिपमुलक तालिम सुरु भएको छ ।

तालिमको शुक्रबार बेनी नगरपालिका शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । उपसचिव पौडेलले कुनै पनि सिपले व्यक्तिको क्षमता विकासमा सहयोग पु¥याउने बताउनुभयो । गाउँ समाज गाइने रत्यौली, लोक भजन लगायतमा मादल बजाउन सक्ने गरि सिप सिक्न सहभागीहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिँह बानियाँले नेपाली मौलिक लोकबाजा मादल बजाउने सिप महिला दिदी वहिनीहरुका लागि आवश्यक रहेको बताउनुभयो । विहेको रत्यौली गीत गाउदा पुरुषले मादल बजाएको नसुहाउने भन्दै त्यसका लागि महिलाहरुले नै मादल बजाउन सक्ने बन्नुपर्ने बताउनुभयो ।

सिकाई केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मादल बजाउने सिपलाई अनौपचारिक शिक्षाको रुपमा लिन सकिने बताउनुभयो । उहाँले मादलको सिपलाई व्यवसायिकतामा समेत जोड्न सकिने बताउनुभयो । ४ दिन सम्म संचालन हुने तालिममा म्युजिसियन दिनेश पुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य समेत रहनुभएका कलाकार अमित विश्वकर्मा सहजकर्ताको रुपमा रहनुभएको छ ।

तालिममा बेनपा ६ भित्रका विभिन्न आमा समुहहरुबाट ४२ जनाको सहभागिता रहको छ । उद्घाटन कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष सुवेदीको अध्यक्षता र सामुदायिक परिचालक पत्मा गौतम शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्यहरु राधिका विश्वकर्मा र शारदा रानाको पनि उपस्थिति रहेको थियो ।