विकल्प न्यूज/बेनी
जेठ १४ गते ।
पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालले सहयोग दातालाई सम्मान,उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ती प्रदान र पुरस्कार वितरण गरेको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपकप्रसाद आचार्य,वडाध्यक्ष टुंगनाथ आचार्य,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्य,विद्यालयका प्रधानाध्यापक मुकुन्द आचार्य लगायतले विद्यालयलाई करिब दुईलाख २७ हजार पाँचसय बराबरका फर्निचर सामग्री सहयोग गर्ने स्थानीय समाजसेवी डण्डपाणी रिजाल र माया रिजाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको छ ।
विद्यालयलाई आवश्यक पर्ने फर्निचर सहयोग गर्नुभएकाले रिजाल परिवारलाई सम्मान गरिएको प्रधानध्यापक आचार्यले जानकारी दिनुभयो ।
सोही अवसरमा विद्यालयले वार्षिक परिक्षा २०८० मा उत्कृष्ट हुने बालकक्षा देखि कक्षा ९ सम्मका छात्रछात्राहरुलाई पुरस्कार वितरण गरेको विद्यालयले जनाएको छ । साथै विद्यालयमा विभिन्न समयमा आयोजना गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने छात्रछात्रालाई समेत पुरस्कार वितरण गरेको प्रअ आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा पालिका अध्यक्ष राजुप्रसाद आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक,विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासमा गाउँपालिकाले योजनाबद्ध तरिकाले काम थालेको उहाँको भनाई थियो । गाउँपालिकाले थालेको अभियानलाई अभिभावकहरुले पनि साथ दिनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा वडाअध्यक्ष टुंगनाथ आचार्य, पालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछाने,व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्य,चन्दादाता समाजसेवी,डण्डपाणी रिजाल, शिक्षक लक्ष्मीप्रसाद आचार्य लगायतले विचार व्यक्त गर्नुभएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष आचार्यले विद्यालयका समस्याका वारेमा जानकारी गराउनुभएको थियो । बालभद्रा स्मृति अक्षयकोषका संरक्षक तथा प्रअ आचार्यले कोषमा थप गर्न ५७००० हजार रुपियाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा सरस्वती स्मृति अक्षयकोषको ब्याजबाट तीनजना गरीव तथा जेहन्दार छात्राहरुलाइ झोला र स्टेशनरी सामान बितरण गरिएको शिक्षक डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।