जलजलामा बजार अनुगमन

विकल्प न्यूज/बेनी
जेठ १३ गते ।

बेनी नगरपालिकाको सिमाना सँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले आइतबार २ र ३ वडाको बगरफाँट र पर्वत बेनी क्षेत्रका पसलहरुको अनुगमन गरेको छ ।

गाउँपालिकाका व्यवसाय दर्ता तथा राजश्व शाखाका प्रमुख कृष्णप्रसाद रिजालको नेतृत्वमा स्थानीय प्रहरी,पालिकाका कर्मचारी र पत्रकार सहितको टोलीले बगरफाँट र पर्वत बेनी क्षेत्रमा रहेका पसल तथा होटलहरुको अनुगमन गरेको हो । अनुगमन टोलीले पालिकाले रोक लगाएको मदिराको बिक्री वितरणको अवस्था,व्यवसाय नवीकरण र दर्ता इजाजत लगायतका कागजातहरु हेरेको पालिकाका राजश्व शाखाका प्रमुख रिजालले जानकारी दिनुभयो ।

दुईमहिना अघि गाउँपालिकाले मानव स्वास्थ्यमा असर पुग्ने प्लास्टिकको वोतलमा प्याक गरिएको मदिरा र हुक्का बिक्रीवितरणमा रोक लगाएको थियो उहाँले भन्नुभयो, ‘‘पहिलो चरणको अनुगमनका क्रममा व्यवसायीलाई सचेत बनाइएको र अहिले दोस्रो चरणको अनुगमनका क्रममा सुधार नगरेका होटल तथा पसलबाट सामाननै जफत गरेका छौं ।’’

पसलबाट प्लास्टिकजन्य मदिरा दुई कार्टुन एकसय १२ बोतल,घरेलु मदिरा ३५ लिटर,खुकुरी रम १ वोतल,चुरोट विभिन्न कम्पनीका ५ प्याकेट ४० खिल्ली,करेन्ट १० पिस,उपभोग्य म्याद गुज्रिएको घिउ,चटपटे लगायतका उपभोग्य वस्तुहरु जफत गरिएको राजश्व प्रमुख रिजालले जानकारी दिनुभयो । जफत गरिएका सामानहरु मुचुल्का तयार पारेर सरोकारवालाहरुको रोवरमा नष्ट गरिने उहाँले बताउनुभयो ।