ठाकुरप्रसाद आचार्य/बेनी
भदौ,५ गते ।
हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा सास्कृतिक पर्व यार्तुङ सोमबार देखि सुरु भएको छ । सुन्दर एतिहासिक लोमान्थाङ मौलिक सस्कृतिको उद्गमस्थल पनि हो । यार्तुङ पर्वको धार्मिक एवम सांस्कृतिक महत्व छ । लोमान्थाङवासीहरुले सयौं वर्ष पुरानो यार्तुङ पर्वलाई अहिले पनि निरन्तरता दिँदै आएका छन् । वर्षमा एकपटक उनीहरुले धुमधाम सँग यो पर्व तिनदिन सम्म मनाउने प्रचलन छ ।
यारको अर्थ बर्खा र तुङको अर्थ हिउँद भन्ने बुझिन्छ । यार्तुङले बर्खायामपछि हिउँदयामको सुरुवातीको झल्को दिने गर्दछ । खेतीपातीको कामकाज सकेर हिउँदयाम सुरु भएको जनाउ दिने पर्व भएकाले यसलाई यार्तुङ भन्ने गरिएको स्थानीयहरु बताउँछन् । पर्वपछि हिउँदयाम सुरु हुने भएकाले उपल्लो मुस्ताङीहरू यार्तुङ पर्व सकिएको २÷३ महिनापछि जाडो छल्न बेसी झर्ने प्रचलन छ । पर्वमा लोमान्थाङका स्थानीयले राजा रानीलाई दरबार पुगेर खाँदा चढाएर आर्शीवाद लिने प्रचलन छ ।
पर्वमा लोमान्थाङ गाउँका स्थानीय चार समूहमा बाँडिएर घोडा दौडाएर रमाइलो गर्छन् । यार्तुङमा स्थानीयहरूले गीत गाउने, नाच्ने र सांस्कृतिक स्याब्रो नाच देखाउने प्रचलन रहेको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो । उहाँका अनुसार यार्तुङलाई लोमान्थाङवासीहरुले ठूलो पर्वका रुपमा मनाउने गर्दछन् । यार्तुङको पहिलो दिन गाउँका प्रत्येक घरधुरीले छ्याङ र खादा लिएर बिष्ट समुदायका अग्रज व्यक्तिको घरमा पुगेर आर्शीवाद ग्रहण गर्दछन् ।
यार्तुङको दोस्रो दिन महिला यार्तुङ र अन्तिम दिन लामाहरुको यार्तुङ हुन्छ । पर्वमा पुरुष र महिलाहरुले चार समूह बनाएर परम्परागत भेषभुषमा सजिएर हात समाती स्याब्रो नाच र ड्रम बजाएर घावा नाँच देखाउने चलन छ । पर्वको तेस्रो तथा अन्तिम दिन गुम्बाका लामाहरुले धार्मिक संस्कृति अनुसार यार्तुङ देखाउँने प्रचलन रहेको पालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिनुभयो ।
यार्तुङ पर्व मनाउँदै लोमान्थाङवासीहरु । तस्विर लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङ