सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ चैत ।
म्याग्दीको राखु पिप्ले र भगवती गाविसमा चिमखोला गाविसको मुहानबाट खानेपानी ल्याउन तिस वर्षदेखि गरिएको प्रयास सफल भएको छ । भगवती, पिप्ले र चिमखोलाका बासिन्दाहरुबीच पानीको उपभोग सम्बन्धि बिवादले आयोजना अघि बढ्न सकेको थिएन् ।
तिन वटा गाविसका सचिव र अगुवाहरुबीच गत हप्ता चिमखोलामा भएको वार्तामा सहमति जुटेपछि चिमखोलाबाट राखुमा खानेपानी ल्याउने तिस वर्षदेखिको प्रयास सफल भएको पिप्ले गाविसका सचिव चित्रनाथ शर्माले जानकारी दिनुभयो । सचिव शर्माका अनुसार तिन वटै गाविसका अगुवाहरुले एक अर्को गाउँको विकासमा सहयोग गर्ने सहमती जनाएपछि खानेपानी आयोजनालाई अघि बढाउने बाटो खुलेको छ ।
पिप्ले र भगवती गाविसले सडक, भवन लगायत पुर्वाधारका योजना निर्माण र बजेट बिनियोजनका क्रममा चिमखोलालाई प्राथमिकता दिने र चिमखोला गाविसले राखुबासीलाई आफ्नो क्षेत्रमा पर्ने मुहानको पानी ल्याउन दिने सहमती भएको सचिव शर्माले बताउनुभयो । यसैगरी भगवती र पिप्ले गाविसले चिमखोलामा उच्च मावि सञ्चालनका लागि आर्थिक सहयोग गर्ने पनि सहमती जनाएका छन् ।
चिमखोलामा पनि तिन वटा स्कीममा खानेपानी आयोजना निर्माण हुने भएको छ । सहमती जुटेपछि भगवती र पिप्लेका लागि बृहत खानेपानी आयोजना अघि बढ्ने खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार चिमखोला गाविसमा पर्ने खानीखोलाको मुहानबाट भगवती र पिप्लेमा पानी ल्याउने बृहत योजना यसै आर्थिक वर्षदेखि सुरु हुनु भएको छ ।
यस वर्ष दश लाख रुपैया बजेट बिनियोजन भएको छ । सो बजेटबाट सर्वेक्षण र पुर्वाधार निर्माणको काम गरिने ईञ्जिनियर केसीले बताउनुभयो । उक्त आयोजनाबाट सहरीकरण उन्मुख पिप्ले र भगवतीका एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने जनाइएको छ । हाल भगवती र पिप्लेमा पानीको स्रोत नहुँदा खानेपानीको चरम अभावको समस्या रहेको छ । यसैगरी चिमखोलामा पनि तिन वटा स्कीममा खानेपानी आयोजना निर्माण गरिने भएको छ । चिमखोलाको आयोजनाको पनि सर्वेक्षण यसैवर्ष गर्ने योजना रहेको छ ।