ताजा समाचार:
Search

बेनीमा गैरकाष्ठ वन पैदावार उद्योग स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ चैत ।
म्याग्दीको बेनी बजारमा समुदायमा आधारित गैरकाष्ठ वन पैदावार उत्पादन तथा प्रसोधन उद्योग स्थापना भएको छ ।

जिल्लामा उत्पादन हुने गैरकाष्ठ वन पैदावारको सहज बजारीकरण तथा स्थानीय स्तरमा आवश्यक सामाग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना भएको हो । ६ जना उद्यमीहरुको १५ लाख रुपैया लगानीमा स्थापित उद्योगले यसैहप्तादेखि उत्पादन सुरु गरेको उद्योगका सचिव हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योगले पहिलो चरणमा नेपाली कागजबाट डायरी, सपीङ ब्याग, प्रिन्ट कागज र खामको उत्पादन सुरु गरेको छ । लुलाङ र रुमको अदीभारमा उत्पादन भएको कागज ल्याएर सामाग्री तयार पार्न थालीएको हो । उद्योगमा दुई जनाले नियमित रोजगारी पाएका छन् ।DSC01331

छिट्टैनै एक पटक प्रयोग भएर खेर जाने कागजलाई प्रसोधन गरेर पुन प्रयोगमा ल्याउन सकिने गरि कागज उत्पादन गर्ने तयारी भएको छ । जसले गर्दा बजारमा कागजजन्य फोहोर ब्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली कागजको सामान राख्ने झोला निर्माण भएपछि पलास्टीकको झोला विस्थापित गराई बजारमा फोहोर ब्यवस्थापन गर्न सहज हुने जनाइएको स्थानीय ब्यवसायीहरुले बताएका छन् । उद्योगको क्षमत्ता विस्तारसंगै अन्य नयाँ सामाग्रीहरुको पनि उत्पादन गर्ने लक्ष्य राखिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

बेनीमा उक्त उद्योग स्थापना भएपछि ग्रामिण क्षेत्रमा उत्पादीत नेपाली कागज उद्योगले सहज रुपमा बजार पाउन थालेको छ । रुम र लुलाङमा दुई वर्षदेखि बजारमा पुराउन नसक्दा बिक्री नभएर थन्कीएर बसेको नेपाली कागज बिक्री भएको छ ।