चिमखोलाका महिलाले सञ्चालन गरेको अल्लो कपडा उद्योग संकटमा
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ चैत ।
म्याग्दीको चिमखोलामा महिलाहरुले सञ्चालन गरेको अल्लो कपडा उद्योग संकटमा परेको छ । काम गर्ने दक्ष जनशक्तिको अभाव भएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको हो ।
वि.स २०६५ मा स्थापना भएको शान्ति अल्लो कपडा तथा बुनाई उद्योग नियमित सञ्चालन हुन सकेको छैन् । अल्लो प्रशोधन र बुनाई सम्बन्धि तालीम सञ्चालन भएको अवस्थामा मात्रै उद्योग चल्ने गरेको छ । उद्योगमा काम गर्ने जनशक्ति अभाव हुँदा नियमित सञ्चालन गर्न नसकेको उद्योगकी अध्यक्ष दुतकुमारी पुनले बताउनुभयो ।
सामुहिक रुपमा सञ्चालित उद्योगमा सुरुमा १२ जना महिलाहरुले अल्लो प्रसोधन र कपडा बुनाईको काम गरेका थिए । त्यसबेला तालीम लिएर दक्ष भएका मध्य अहिले तिन जनामात्रै छन् । बसाईसराईका कारण तालीम लिएका उद्यमीहरु सहरी क्षेत्रमा पलायन भएपछि उद्योग सञ्चालन गर्न कठिनाई भएको अध्यक्ष पुनले बताउनुभयो ।
उद्योगमा स्थानीय जंगलमा पाईने अल्लो पुवा संकलन र प्रसोधन गरि धागो बनाई सोही धागोबाट कपडा बुन्ने गरिन्छ । अल्लोको कपडाको माग धेरै आएपनि जनशक्ति नहुँदा वर्षमा ५०६० हजार रुपैया बराबरको मात्रै उत्पादन हुने गरेको छ ।
उद्योग सञ्चालन गर्न लघुउद्यम विकास कार्यक्रमको सहयोगमा साझा सुबिधा केन्द्र भवन पनि निर्माण भएको छ । संगम, लघुउद्यमी समूह संघ, घरेलु तथा साना उद्योग विकास समिति, गाविस, जिविस लगायतका नियकाले अल्लो प्रसोधन र धागो बुन्ने उपकरणहरु सहयोग गरेका थिए ।
लाखौ लगानी गरेर तयार भएको भवन र उपकरणहरु प्रयोग गर्ने जनशक्ति नभएर उपयोगविहीन भएका छन् । उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न गाउँका नयाँ युवतीहरुलाई सिकाउन थालीएको अध्यक्ष पुनले बताउनुभयो । ११ जना नयाँ युवतीहरुलाई अल्लो प्रसोधन र धागो बुन्ने तालीम दिन सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्