२४ वर्षीय रामवहादुर थापा – परिवारकै खम्बा
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
म्याग्दी,चैत ४ गते ।
२४ वर्षीय युवा रामवहादुर थापामगरलाई पाँचवर्ष अगाडी घरखर्ची चलाउन धौधौ पर्ने गर्दथ्यो । १३ जनाको परिवार धान्न र आफ्नो पढाइ खर्च जुटाउन उहाँलाई मुश्किल मात्र परेन खर्चकै अभावमा १२ कक्षामै थापाको पढाइले पूर्णविराम लाग्यो । तर अहिले उहाँलाई पैसाको कुनै चिन्ता छैन् । रामवहादुरले गाउँमै व्यवसायिक तरकारी खति गर्न थालेपछि अहिले घरखर्ची जुटाउनु त के बैंकमा पैसा बचत समेत गर्न थाल्नुभएको छ ।
बेनी नगरपालिका १ आनन्दवगरका युवा रामवहादुरले व्यवसायिकरुपमा तरकारी खेति गर्न थालेपछि अहिले परिवार धान्न कुनै चिन्ता छैन् । थापामगरले आनन्दबगरमा ६ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेति गर्नुभएको हो । उहाँले तरकारी खेतिबाट वार्षिक तिनलाख देखि चार लाख रुपियाँ सम्म आम्दानी गर्ने गरेको सुनाउनुभयो । सवै खर्च कटाएर वार्षिक दुइलाख रुपियाँ बचत गर्ने गरेको उहाँले बताउनुभयो ।

युवा किसान थापाले अहिले माटोमै परिवारको सुखद भविष्यको कोर्दै हुुनुहन्छ । उहाँलाई कतारको चर्को घाममा रगत पसिना बगाउन मन छैन, स्देशमै पसिना बगाएर रमाउन मन रहेको थापाले बताउनुभयो । दुःख सुखका साथ घरपरिवार सँगै वस्न पाइने र परिश्रम गरेमा तरकारी खेतिमा आम्दानी पनि राम्रो हुने भएकाले विदेश जाने रहर नभएको उहाँले बताउनुभयो ।
विदेशमा गर्ने श्रम पसिना आफ्नै मुलुकमा पोख्ने अठोटका साथ थापाले छिमेकीको छ रोपनी जग्गा वार्षिक चालिस हजार भाडामा लिएर व्यवसायिक तरकारी खेती थाल्नुभएको हो ।
व्यवसायिक तरकारी खेतीवाट थापाले अहिले राम्रो आम्दानी गर्ने गरेको छिमेकी अमर बोगटीले बताउनुभयो । तरकारी खेतिमा थापाको मेहनत र परिश्रम देखेर गाउँका सवैजना दङग पर्ने गरेको बोगटीले बताउनुभयो । थापाकै सिको गरेर अहिले गाउँका अन्य युवाहरु पनि कृषि पेशमा लागेको उहाँले बताउनुभयो ।
थापाले अहिले काक्रो,घिरौला,भेन्टा,काउली,बन्दा र आलु लगाउनुभएको छ । बन्दा र काउली बजारमा लैजाने भएका छन् । काउली विक्री गरेर पचासहजार आम्दानी भएको थापाले बताउनुभयो । दुई वटा टनेल निर्माण गरी गोलभेडा खेती पनि गर्नुभएको छ । बेमौसमी गोलभेडा खतिबाट राम्रो आम्दानी गर्न सक्ने कृषक थापाको अनुभव छ ।

‘‘पहिले घर व्यवहार चलाउन निकै असजिलो हुन्थ्यो, छोराछोरी पढाउनै प¥यो उहाँले भन्नुभयो, ‘‘ विदेशमा गएर एक्लो पाखुराले कमाएको पैसाले सवै परिवार पाल्न त कठिन पो हुन्छ । जहान परिवार मिली तरकारी खेती गर्नाले छोरा छोरी पढाउन सजिलो छ र घर व्यवहार पनि चलेकै छ ।” बाबु,आमा,बाजे बजै र दाइभाई दिदिवहिनी र आफ्ना छोरा छोरी गरेर १३ जना सदस्य रहेको ठूलो परिवार थापाकै पौरखमा धानीएको छ । थापालाई गाउँले परिवारकै खम्बा भएको बताउँछन् ।
कृषक थापाको खेतवारीको काममा श्रीमतीले पनि सघाउनुहुन्छ । १२ कक्षा पढ्दा पढ्दै विचैमा पढ्न छाडेका थापा अहिले गाउँकै अब्बल किसान बन्नुभएको छ । कृषि पेशावाटै भविष्य कोर्ने उहाँले सपना बुन्नुभएको छ । उत्पादित तरकारी नजिकैको बेनी वजारमा ल्याई विक्री गर्नुहुन्छ । बेमौसमी तरकारी उत्पादन गर्न सक्ने हो भने व्यपारीहरु घरमै खरिद गर्न आउने उहाँले सुनाउनुभयो ।
‘‘वजार नपाएर उत्पादित तरकारी खेर गएको छैन, थापाले भन्नुभयो, ‘‘बेमौसमी तरकारी उत्पादन गर्न सके आफुले भनेकै मुल्यमा बजारमा विक्री हुन्छ ।” थापाले तरकारीका विरुवा पनि आफ्नै वारीमा उत्पादन गर्नुहुन्छ र विक्री गर्नुहुन्छ । कम समय, थोरै श्रम र लगानीमै तरकारी खेती गर्न सकिने र राम्रो आम्दानी हुने भएकाले भावी दिनहरुमा यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
‘‘विदेशमा पैशा फल्ने हैन रैछ, साह्रौ दुःख हुने विदेश पुगेका साथीहरु बताउँछन्, थापाले भन्नुभयो, ‘‘विदेशमा गर्ने दुःख घर गाउँकै माटोमा गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । त्यसका लागि जोस र जाँगर चाहिन्छ ।” 
तरकारी खेतीका लागि उहाँले जिल्ला कृषि विकास कार्यालयवाट आर्थिक एवम् प्राविधिक सहयोग पाएको बताउनुभयो ।
उहाँ जस्तै पछिल्लो समय म्याग्दीमा अहिले व्यवसायिक रुपमा कृषि कर्ममा जुट्ने युवाहरु प्रशस्तै देख्न सकिन्छ । जिल्लामा कोही व्यवसायिक तरकारी खेती, फलफुल खेतीमा लागि परेका छन त कोही वंगरपालन, गाईपालन, कुखुरापालन र व्यसायिक वाख्रापालनमा जुटेका छन् । जिल्लामा दुइसय भन्दा वढी युवाहरु व्यवसायीक कृषि पेशामा लागेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
पछिल्लो समय कृषि पेशामा नयाँ, जोस र जाँगर भएका युवाहरु प्रवेश गर्नु राम्रोे भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्यामप्रसाद रिजाले बताउनुभयो । युवाहरुलाई कृषिपेशा तर्फ आकर्षीत गर्न कार्यालयले कृषिमा युवा लक्षित कार्यक्रम आएको बताउनुभयो । युवा लक्षित कार्यक्रमबाट यसवर्ष ६० जना युवाकृषक हरुले चालिस हजारका दरले अनुदान पाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्