ताजा समाचार:
Search

म्याग्दीमा यसवर्ष सुन्तला विक्रीबाट साढे चार करोड भित्रीयो

सन्तोष गौतम/विकल्प
म्याग्दी २ चैत ।
म्याग्दीका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब साढे चार करोड रुपैया जिल्लामा भित्र्याएका छन् ।

म्याग्दीमा उत्पादन भएको एक हजार २५१ मेट्रिक्टन सुन्तला बागलुङ, पर्वत, कास्की, चितवन र राजधानी काठमाडौमा निकासी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष कृषकले सुन्तला बेचेर चार करोड ३७ लाख ८५ हजार रुपैया जिल्लामा भित्र्याएको कार्यालयकी योजना अधिकृत ज्योती क्षेत्रीले जानकारी दिनुभयो । orange 2

कार्यालयका अनुसार म्याग्दीमा उत्पादन भएको दुई करोड ९२ लाख २५ हजार रुपैया मूल्य बराबरको ८३५ मेट्रिक्टन सुन्तला जिल्लाभित्रै खपत भएको छ । कृषकले सरदर ३५ रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री गरेका छन् । २८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको म्याग्दीमा यस वर्ष दुई हजार ८६ मेट्रिक्टन उत्पादन भएको थियो ।orange photo 1

सुन्तला म्याग्दीको प्रमुख फलफुलबाली हो । म्याग्दीको घतान, सिङ्गा, भकिम्ली, पिप्ले, बिम, बरंजा, ताकम, देविस्थान, ओखरबोट, दाना, नारच्याङ, हिस्तान, भुरुङ तातोपानी, पात्लेखेत र घार गाविसमा करिब दुई सय ब्यवसायीक सुन्तला बगैचा रहेका छन् ।
उपयुक्त हावापानी, भुगोल, रोककिराको समस्या कम र गुणस्तरीय भएकाले म्याग्दीको सुन्तलाले बाहिरी जिल्लामा राम्रो बजार र मूल्य पाएका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।