वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुल्यो
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ चैत ।
म्याग्दी सदरमुकाम बेनी बजारको कालीपुल पारी रहेको पर्वतको बगरफाँट जोड्ने वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुलेको छ ।
२०७२ जेठ १० गते म्याग्दीको काफलडाँडाको भिरबाट बैसरीमा खसेको पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कटान गरेको सडक दश महिनापछि मर्मत गरिएको हो ।
सरकारी निकायको आर्थिक तथा प्राबिधिक सहयोग र बगरफाँटका बासिन्दाहरुको श्रमदानमा सडक मर्मत गरेर फागुन अन्तिम सातादेखि सञ्चालनमा ल्याइएको वारीबेनी बगरफाँट सडक उपभोक्ता समितिका अध्यक्ष मुकुन्द बैरागीले जानकारी दिनुभयो ।
सडक मर्मतका लागि ढुंगा संकलन र ग्याविन पर्खाल लगाउन २५० घरधुरीले दश दिनको दरले श्रमदान गरेका छन् । सडक मर्मत भएपछि बगरफाँटका साथै मल्लाज, बाँसखर्क र म्याग्दीको राम्चे गाविसका बासिन्दाहरुलाई सुबिधा पुगेको छ ।
नदीले कटान गरेको ठाउँमा ९० मिटर ग्याविन र रिटेनीङ पर्खाल लगाइएको छ । सडक मर्मतका लागि जिल्ला भुसंरक्षण कार्यालयले १०५, नदी नियन्त्रण कार्यालयले २८ र जिविस पर्वतले २० वटा तारजाली ग्याविन उपलब्ध गराएका थिए ।
यसैगरी जिविसले तिन लाख ५० हजार, गाविसले ५० हजार र नदी नियन्त्रण कार्यालयले दुई लाख नगद सहयोग गरेका अध्यक्ष बैरागीले बताउनुभयो । नदी किनारमा लगाइएको पर्खाल फिलीङ गर्न बेनी बजारका ब्यवसायी भवबहादुर भण्डारीले ५ घण्टा डोजर निशूल्क प्रयोग गर्न दिएर सहयोग गर्नुभएको उपभोक्ता समितिले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्