सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ चैत ।
महिला र दुई वर्ष मुनीका बालबालिकाको पोषण स्थितीमा सुधार ल्याउन म्याग्दी जिल्लामा सञ्चालन भएको एकिकृत पोषण कार्यक्रम (सुआहारा)को समयअवधि सकिएको छ ।
अमेरीकी सहयोग नियोगको सहयोगमा मिलन म्याग्दीद्धारा जिल्लाको ३५ गाविस र एक नगरपालीकामा सन २०१२ देखि सुरु भएको सुआहाराले गरेका गतिबिधिहरु मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ ।
परियोजना मार्फत महिला तथा बालबालिकालाई केन्द्रित गरेर पौष्टिक आहराको उपभोग, सरसफाई, स्वास्थ्य सेवामा पहुँच वृद्धी हुने किसीमका कार्यक्रमहरु सञ्चालन भएको थियो ।
तिन वर्षसम्म सञ्चालन भएको कार्यक्रमका लागि छ करोड ६५ लाख तिन हजार ५८५ रुपैया बजेट प्राप्त भएकोमा पाँच करोड ६२ लाख ४५ हजार ५२७ रुपैया खर्च भएको सुआहारा जिल्ला संयोजक पासाङदेवि तामाङले जानकारी दिनुभयो ।
कार्यक्रम लागू भएपछि स्थानीय स्तरमा उपलब्ध खाद्यान्न, तरकारी र पशुजन्य पदार्थलाई सन्तुलित आहराको रुपमा प्रयोग गर्न थालीएको, बच्चा र आमाको स्याहार सुसार र सरफाईप्रती सचेतना बढेको संयोजक तामाङले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको लागि तयारी भैरहेको छ । उक्त कार्यक्रममा मन्तब्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी केशव आचार्यले हरेक निकायले सञ्चालन गर्ने योजना तथा कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने, पारदर्शी, प्रभावकारी र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, दरवाङ गाविसका सचिव सोमबहादुर केसी, झिँकी यामकुमारी मगर, खबराकी सिता खड्का, घतानकी स्वमसेवीका हिरा चोखाल लगायतले सुआहारा कार्यक्रम सम्बन्धि अनुभव व्यक्त गर्नुभएको थियो ।
स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष जुना गर्बुजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवा पुनले सञ्चालन गर्नुभएको थियो ।