सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ चैत ।
म्याग्दीका एक युवाले एक करोड रुपैया भन्दा बढी लगानी गरेर ब्यवसायीक भेडापालन गरेका छन् ।
बैदेशिक रोजगारीको विकल्पमा भेडापालन गरेका बेगखोला गाविस १ का बिमल फगामीले आफू स्वरोजगार बन्नुको साथै अन्य युवाहरुलाई पनि गाउँमै रोजगारी दिएका छन् । ११ वर्षअघि ५० वटा भेडा पाल्न सुरु गरेका ३० वर्षिय फगामीसंग अहिले आठ सय भेडा छन् ।
भेडापालनका लागि हालसम्म एक करोड बिस लाख रुपैया लगानी भएको फगामीले जानकारी दिनुभयो । वर्षमा दुई सय भन्दा बढी भेडा बेच्ने फगामीले वार्षिक बिस लाख रुपैया भन्दा बढी आम्दानी हुने बताउनुभयो । उहाँले भेडापालेर अन्य आठ जनालाई रोजगारी पनि दिनुभएको छ ।
फाइल तस्विर
निमावी तहसम्मको शिक्षा हाँसील गरेका फगामीले पढाई राम्रो नभएकाले बिदेश जान र अन्य पेशा ब्यवसाय गर्न नसकेपछि सुरु गरेको भेडापालनबाट सन्तुष्ट रहेको बताउनुभयो । उहाँले भेडा बेचेर भएको आम्दानीले लगानी विस्तार गर्दै जानुभएको हो ।
थुमा, साँड पुजाआजाका लागि र खसी मासुका लागि गोठबाटै बिक्री हुने भएकाले बजारको कुनै समस्या नरेहेको फगामीले बताउनुभयो । बरुवाल जातका भेडा पालेका फगामी गोठ लिएर हिउँदमा बेगको कालीगण्डकी किनारदेखि बर्खामा निलगिरी र धौलागिरी हिमालको फेदीसम्म पुग्ने गर्नुहुन्छ ।
सामुदायीक वनमा रुख बिरुवा हुर्कीएपनि चरिचरन बन्द गरिनु, चरन क्षेत्रमा घाँस कम पलाउनु, चितुवाको आतंक र सरुवा रोग भेडापालनमा चुनौती रहेको फगामीको भनाई छ । पछिल्लो समय जिल्ला पशु सेवा कार्यालयको सम्र्पकमा आएपछि औषधि र प्राबिधिक परामर्श पाएका फगामीले फार्म दर्ता गरेर भेडापालनलाई थप ब्यवस्थित बनाउने योजना रहेको जानकारी दिनुभयो ।