सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ चैत ।
जिल्ला विकास समिति म्याग्दीले निजी क्षेत्रको साझेदारीमा जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ ।
जलविद्युतको प्रशस्त सम्भावना भएपनि आयोजना निर्माण हुन नसकेको तथा सुरु भएका आयोजना पनि सुस्त र बिवादमा अल्झीएको अवस्थामा जिविसले निजी क्षेत्र र लगानीकर्तालाई आकर्षित तथा सर्वसाधारणलाई विश्वास दिलाउन यस्तो योजना अघि सारेको हो ।
हालै सम्पन्न २४ औ जिल्ला परिषद्ले जिविस र निजी क्षेत्रको साझेदारीमा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा जलविद्युतको प्रवल सम्भावना रहेको र विद्युतको विकास हुन सकेमा मात्र जिल्लाको विकासले गति लिने हुँदा जलविद्युतमा लगानी आकर्षित गर्न नितीगत ब्यवस्था गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । जिल्ला परिषद्को निर्णयले जलविद्युत आयोजनाहरुमा जिविस, नगरपालीका र गाविसको लगानीका लागि नितीगत तथा कानुनी बाटो खुलेको छ ।
सरकारी निकायको पनि लगानी हुनेभएपछि निजी क्षेत्र र लगानीकर्ताहरु म्याग्दीका जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित हुने अपेक्षा गरिएको छ । यसैगरी सर्वसाधारणहरुले पनि जलविद्युत आयोजनामा ढुक्क भएर लगानी गर्न सक्ने सन्देश प्रवाह हुने स्थानीय विकास अधिकारी पौडेलको भनाई छ ।
दुई हजार मेघावाट जलविद्युत आयोजना निर्माणको सम्भावना भएको म्याग्दी जिल्लामा आयोजना निर्माणका लागि थुप्रै कम्पनीहरुले अनुमती लिएर सर्वेक्षण गरेपनि निर्माण कार्य सुरु गरेका छैनन् ।
सडक, उत्पादीत विद्युतलाई केन्द्रिय प्रशारण लाईनमा जोड्ने सब स्टेशन नहुनु, स्थानीयको अवरोध, असमझदारी लगायतका कारणले म्याग्दीमा जलविद्युत विकासले गति लिन सकेको छैन् । जिल्लाभित्र संचालन हुने आयोजना र स्थानीय जनता लगायत सरोकारवालाहरुबीच असमझदारी सिर्जना भएमा सबै पक्षसंग समन्वय गरी जिल्ला विकास समितिको पहलमा सहज वातावरण बनाउने जिविसले जनाएको छ ।