ताजा समाचार:
Search

गलेश्वरमा संस्कृत भाषाको पठपाठन सञ्चालन गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन ३० गते ।
बेनी नगरपालीका ९ गलेश्वरमा रहेको जडभरत प्राबिमा आगामी शैक्षिक सत्रदेखि संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने तयारी भएको छ । जडभरत प्राबिलाई निमावी तहमा स्तरवृद्धी गरि संस्कृत भाषामा पनि कक्षा सञ्चालन गर्न लागिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

संस्कृत भाषाका विद्यार्थीहरुले गणित, विज्ञान र अंग्रेजी लगायत विषयको र अन्य विद्यार्थीले ऐच्छिकका रुपमा संस्कृत विषयको अध्ययन गर्न पाउने कोषका अध्यक्ष रुद्रबहादुर केसीले आईतबार बेनीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।DSC01236

गलेश्वरमा वि.स २०२१ देखि सञ्चालन हुदै आएको शालग्राम गण्डकी वेदविद्याश्रम विद्यार्थी अभावका कारण दुई वर्षअघि बन्द भएको थियो । संस्कृतका अलावा नेपाली पाठ्यक्रममा आधारीत विषयहरुको पाठनपाठन गर्ने सुबिधा नहुँदा विद्यार्थी अभाव भएर विद्याश्रम बन्द भएपछि नयाँ तरीकाले संस्कृत विद्यालय सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताउनुभयो ।
संस्कृत पढ्ने विद्यार्थीलाई उक्त विद्यालयका विद्यार्थीले हाल पाउदै आएको मासिक दुई सय छात्रवृत्तीको साथै निशूल्क आवास, भोजनको पनि सुबिधा पाउने भएका छ । आगामी वर्षदेखि ज्योतिष बिद्याको पनि पठनपाठन सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो । कोषले दुई जना विषयगत शिक्षक पनि भर्ना गरिसकेको छ ।

पत्रकार भेटघाटका क्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषको गतिबिधि र चालु आर्थिक वर्षको माघ मसान्त सम्मको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको थियो । दश महिनाको अवधिमा ४८ लाख ७२ हजार ९२२ रुपैयाँ आम्दानी र २७ लाख आठ हजार ९३ रुपैया खर्च भएको कोषले जनाएको छ । कोषको खातामा अघिल्लो वर्षहरुको सहित एक करोड २९ लाख २३ हजार ४३३ रुपैयाँ मौज्दात रहेको छ ।