नवआगन्तुक प्रजिअ आचार्यलाई उवासंघद्वारा स्वागत
प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन ३० गते ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको आइतबार सदरमुकाम बेनीमा स्वागत भएको छ । गृह मन्त्रालयबाट हालै मात्र म्याग्दीमा प्रमुख जिल्ला अधिकारीका रुपमा आएका प्रजिअ आचार्यलाई म्याग्दी उद्योग वाणिज्य संघद्वारा स्वागत गरिएको हो ।
उद्योग वाणिज्य संघले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी संघका पदाधिकारी एवं उद्योगी व्यापारीहरुले प्रजिअ आचार्यलाई फुलमाला, टिका र खादा लगाएर स्वागत गरेका छन् । स्वागत ग्रहणपछि बोल्दै प्रजिअ आचार्यले जिल्लामा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सबैको सहयोग आवश्यक रहने धारणा राखेका थिए ।

उनले जिल्लाको विकास निर्माण, शान्तिसुरक्षा, अमनचयन, जनतालाई सेवासुविधा उपलब्ध गराउन सरोकारवाला सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै जिल्ला प्रशासनको तर्फदेखि आफूले समन्वय गरेर अघि बढ्ने बताए । उनले प्रशासन र उद्योगी व्यापारीहरुबीच एकापसमा सहयोगी भएर कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रजिअ आचार्यलाई स्वागत गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले जिल्लाको अवस्था, उद्योग व्यापारलगायतका विषयमा जानकारी गराएका थिए । अध्यक्ष विश्वकर्माको अध्यक्षता र महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्