सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन ३० गते ।
म्याग्दीको चिमखोलामा रहेको धार्मीक स्थल मण्डली मन्दिरमा नेपाली सेना र स्थानीय बासीन्दाले पुर्वाधार निर्माण गरेका छन् ।
नेपाली सेनाको अर्थुङ्गे स्थित ईन्द्रबक्स गण र चिमखोलाबासीले मण्डली मन्दिर परिसरमा ट्रस्ट (टिनले छाएको प्रतिक्षालय) र शौचालय निर्माण गरेका हुन् । मन्दिर परिसरमा पहिरो रोकथामका लागि तटबन्ध गरेर त्यसैमाथी ट्रस्ट निर्माण गरिएको छ ।
ट्रस्ट र शौचालय निर्माणका लागि ईन्द्रबक्स गणका उपसेनानी दिपेश थापा नेतृत्वमा रहेको २४ जना सैनीकले श्रमदान गरेका थिए । सिमेन्ट, टिन लगायत निर्माण सामाग्री नेपाली सेनाले जुटाएको हो भने स्थानीयबासीले ढुङ्गा गिट्टी फुटाउने र ढुवानीको काममा सहयोग गरेका थिए । जिल्ला भुसंरक्षण कार्यालयले उपलब्ध गराएको तारजालीले मन्दिर परिसरमा फिलीङ र सडकमा पहिरो रोकथामका लागि तटबन्ध गरिएको छ ।
म्याग्दी जिल्लामै प्रसिद्ध धार्मीक स्थल मानिने मन्दिर परिसरमा पुर्वाधार तयार गर्न नेपाली सेना र स्थानीयबासीन्दाको श्रमसहित दश लाख रुपैयाँ भन्दा बढीको लगानी भएको अमर मावि चिमखोलाका प्रअ पृथबहादुर थापाले बताउनुभयो
ट्रस्टको शुक्रबार नेपाली सेनाको पश्चिम पृतनाका प्रमुख उपरथी रमेशकुमार पुनले शिलालेख अनावरण गरि उद्घाटन गर्नुभयो । उद्घाटनपछि चिमखोलामा आयोजित कार्यक्रममा मन्तब्य व्यक्त गर्दै उपरथी पुनले एकता र ईच्छाशक्ति भएमा जस्तोसुकै अप्ठ्यारोका बीच पनि विकास सम्भव रहेको बताउनुभयो ।
उपरथी पुनले नेपाली सेनाको विषयमा समुदायमा रहेको भ्रम चिर्नका लागि पनि समुदाय र सेना संगै मिलेर काम गरेको जानकारी गराउनुभयो । आफ्नो पुख्यौली थलो समेत रहेको चिमखोला क्षेत्र बिकट भएपनि रमाईलो र सम्भावनायुक्त भएको बताउदै उपरथी पुनले शिक्षामा पहँुच बढाउनुपर्ने बताउनुभयो ।
उपरथी पुनले सम्बोधनका क्रममा श्रमदानमा खटिने नेपाली सेनाका अधिकृत, जवान र स्थानीयबासीन्दालाई धन्यवाद दिनुभएको थियो । उपरथी पुन, ईन्द्रबक्स गणका प्रमुख सेनानी राजु कार्की लगायत सैनीक अधिकृतहरुले चिमखोलाको मण्डली युवा कल्वलाई खेलकुद सामाग्री र हेलोजिन लाईट उपलब्ध गराउनुभयो ।
यसैगरी अमर माविका ३० जना विद्यार्थीहरुलाई पोशाक, विद्यालयलाई कम्प्युटरका पाटपुर्जा, खेलकुद सामाग्रीका साथै २५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । चिमखोला गाविसका सचिव जितबहादुर सुनारले सञ्चालन गर्नुभएको कार्यक्रममा उपरथी पुनलाई सरकारी सेवाको उच्च तहमा पुग्ने पहिलो चिमखोलाबासीको रुपमा आमा समूह र रितीथिती समितीले सम्मान गरेका थिए ।