विकल्प न्यूज/बेनी
फागुन ३० गते ।
दोस्रो टोड्के महोत्सव अन्तरगत आयोजित पश्चिमाञ्चल क्षेत्रस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा स्याङ्जालाई २ का विरुद्ध ३ सेटले पछि पर्वत बिजयी भएको हो ।
यसैगरी गाविस स्तरीय महिला भलिबल प्रतियोगितामा झिँ बिजेता र शालीजा गाविसको टिम उपबिजेता भएका छन् । पुरुष भलिबलको बिजेता र उपबिजेता टिमले नगद एक लाख ११ हजार १११ र ६६ हजार ६६६ सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् ।
महिला भलिबलको बिजेताले ४० हजार र उपबिजेताले २५ हजार रुपैया नगद पुरस्कारको साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् । पुरुष तर्फ स्याङ्जाका महेन्द्र श्रेष्ठले उत्कृष्ट स्टाईकर, अर्जुन मल्लले उत्कृष्ट खेलाडी, महेश खड्काले उत्कृष्ट बल्गर र भरत थापाले उत्कृष्ट सटरको उपाधि हात पारेको प्रतियोगिताका अफिसियल संयोजक तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
महिला भलिबलतर्फ झिँ की तेजकुमारी थजालीले उत्कृष्ट खेलाडी र शालीजाकी अनिता खोरजाले उत्कृष्ट स्टाईकरको उपाधि प्राप्त गरेकी छिन् । बिजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन खत्री, उपाध्यक्ष बाबुराम आचार्य, अफिसल संयोजक तेजेन्द्र बानियाँ, खेलकुद संयोजक खिमप्रसाद रोकाले पुरस्कार वितरण गर्नुभएको थियो ।