प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन ३० गते ।
पश्चिम म्याग्दीको रुम गाविसका सम्भाव्य उद्यमीहरुलाई व्यवसाय सचेतना तथा शुरु तालिम दिइएको छ । घरेलु साना उद्योग विकास समिति म्याग्दी र लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यालय पोखराको सहयोग तथा संगम म्याग्दीको आयोजनामा उनीहरुलाई तालिम प्रदान गरिएको हो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत उद्यमीहरुलाई एकहप्ता लामो व्यवसायसम्बन्धी तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । स्थानीयस्तरमा रहेका लघुउद्यमीहरुलाई समेटेर चलाइएको तालिममा व्यवसाय, व्यावसायिक योजना, यसका फाइदाहरु, वित्तीय कला तथा सिप र उत्पादित बस्तुहरुको बिक्रीबितरण एवं बजारीकरणलगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।
तालिमको संगम म्याग्दीका उपाध्यक्ष खरमाया बिटालु, उद्यम विकास सहजकर्ताहरु सरिता खत्री, अमृता पुन, निर्मला पुन, गीता शेरपुञ्जा र गोमा पुनले सहजीकरण गरेका थिए । यसैबीच तालिमपश्चात् विभिन्न ६ ओटा लघुउद्यमी समूह समेत गठन गरिएको छ ।
खिमबहादुर विकको अध्यक्षतामा प्रगतिशिल लघुउद्यमी समूह, सिमरन विकको अध्यक्षतामा लालीगुराँस, रैमती रसाईलीको अध्यक्षतामा सिर्जनशील, यासिका रोकाको अध्यक्षतामा सुरक्षा, टिकादेवी पुनको अध्यक्षतामा दिदीबहिनी र हस्तकला बुढाथोकीको अध्यक्षतामा लगनशील लघुउद्यमी समूह गठन गरिएको हो ।
गठन गरिएका लघुउद्यम समूहमार्फत ग्रामीण क्षेत्रमा सिलाइकटाई, कुखुरापालन, बुटीक, स्वीटर तथा उनीको खास्टो बुनाई, अल्लोको धागो निकासीलगायतका सिपमूलक व्यवसायहरु सञ्चालन गर्ने बताइएको छ । यसैगरी गाविसस्तरीय महिला सञ्जाल र संगम म्याग्दीले संयुक्तरुपमा सिपमूलक तथा आयआर्जनसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएका छन् ।
रुम गाविसका महिला सञ्जाल अध्यक्ष विमला रोकाको अध्यक्षता, प्रशिक्षक एवं संगम म्याग्दीका उपाध्यक्ष खरमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला सञ्जाल सचिव धनमाया पुन, सामाजिक परिचालक सीता पुन, सहभागी शोभा नेपाली, विपना रोका र खिमबहादुर रोकाले मन्तव्य राखेका थिए ।