ताजा समाचार:
Search

पर्वतको धाईरीङ लालुङखानीमा आगोलागी हुँदा पाँच घर जले

सन्तोष गौतम/विकल्प न्यूज
पर्वत,फागुन २९ गते ।
पर्वतको धाईरीङ १ लालुङ खानीको वनमा भएको डडेलो बस्तीमा पस्दा पाँच वटा घर जलेर नष्ट भएका छन् ।

शुक्रबार दिउँसोदेखि जंगलमा लागेको आगो फैलीएर बस्तीमा पुग्दा साँझ घर जलेर नष्ट भएको हो । दिपा आचार्य, उजेली दमै, कर्णबहादुर दमै, मने दमाई र कृष्णबहादुर दमैको घरगोठ जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाईटी मल्लाज उपशाखाले जनाएको छ । aago                                             फाइल तस्विर
पाँच वटा घरसंगै गाईबस्तुको आहराका लागि राखिएको परालको टौवा पनि जलेका छन् । पाँच परिवारका ४६ जना घरबार बिहीन भएका छन् । आगोलागीबाट करिब २५ लाख रुपैया बराबरको धनमाल क्षत्ती भएको उपशाखाका उपसभापति लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।

 

डडेलोले लालुङखानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तारमा प्रयोग भएको पाँच वटा काठका पोलहरु समेत जलेर नष्ट बनाएको छ । मिलनचोक प्रहरी चौकी, वन कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोलागि पिडितहरुलाई शनिबार नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वत र मल्लाज उपशाखाको टोलीले प्रति परिवार दुई थान कम्बर, पानी खाने, खाना पकाउने भाँडा, त्रिपाल लगायतका राहत सामाग्री वितरण गरेको छ । शिक्षक तिलक आचार्य र भिमानन्द आचार्यले व्यक्तिगत रुपमा तिन हजार सहयोग गर्नुभएको छ ।

रेडक्रस पर्वत शाखाका सभापति रुद्रबहादुर रिमाल, मल्लाज उपशाखा सभापति रवि भण्डारी, उपसभापति लोकनाथ रेग्मी र मिलनचोक प्रहरी चौकीका प्रतिनिधिहरुले राहत सामाग्री वितरण गर्नुभएको थियो ।