विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २९ गते ।
मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले शनिबारदेखि कालीगण्डकी नदी सफाई अभियान सुरु गरेको छ ।
धार्मीक एवं पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त कालीगण्डकीमा बढ्दो प्रदुषण न्युनीकरण र नदी सरसफाईप्रती सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको शाखाले जनाएको छ । बेनी बजार स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट अभियान सुरु गरिएको हो ।
अभियान अन्तरगत प्रत्येक महिनाको अन्तिम शनिबार नदी किनारमा फालीएको फोहोर संकलन र व्यवस्थापन गर्ने तथा फोहोर नगर्न सन्देश प्रवाह गरिने शाखा सभापति मुक्ति ढुंगानाले जानकारी दिनुभयो । अभियानमा सहभागिताका लागि शान्ति समाजले बजारबासी, उद्योगी ब्यवसायी, सरकारी तथा गैरसरकारी निकायसंग पनि अपिल गरेको छ ।
शान्ति समाजको गत मंसिर ४ र ५ गते गलेश्वरमा सम्पन्न १८ औ राष्ट्रिय परिषद् बैठकले कालीगण्डकी सफाई अभियान सञ्चालन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । निर्णय कार्यान्वयनका लागि अभियान सञ्चालन गरिएको केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले बताउनुभयो ।