सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, फागुन २९ गते ।
म्याग्दीको चिमखोलामा शनिबार सम्पन्न एकिकृत घुम्ती शिवीर मार्फत एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको संयोजन र नेपाली सेनाको ईन्द्रबक्स गणको व्यवस्थापनमा सञ्चालन भएको शिवीरमा चिमखोला, कुईनेमंगले, दग्नाम र पाखापानी गाविसका सर्वसाधारणले गाउँमै सर्वसुलभ रुपमा सरकारी सेवा प्राप्त गरेका हुन् ।
एक हजार १२ जना सर्वसाधारणहरुले जिल्ला सदरमुकाम पुगेर लिनुपर्ने सेवा गाउँबाटै प्राप्त गरेका सहायक प्रमुख जिल्ला अधिकारी यादव आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको ईन्द्रबक्स गणले आयोजना गरेको निशुल्क स्वास्थ्य शिवीरबाट सबैभन्दा बढी ५५० जना लाभान्वित भएका छन् ।
२३ नम्बर बाहिनी बागलुङको फिए गुल्मका चिकित्सक आयुस रायमाझीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण गरेको छ । पाँच लाख रुपैया मूल्य बराबरको औषधि वितरण गरिएको जनाइएको छ ।
जिल्ला पशु सेवा कार्यालयको टोलीले १६० जना कृषकहरुलाई औषधि वितरण र कृषि सेवा कार्यालयको टोलीले १५० जनालाई तरकारीको विउ वितरणसंगै परामर्श सेवा दिएको छ । प्रशासन कार्यालयले २८ जनालाई नागरीकता वितरण गरेको छ । स्वास्थ्य कार्यालयको टोलीले ३२ जनालाई परिवार नियोजन सम्बन्धि सेवा उपलब्ध गराएको छ ।
महिला तथा बालबालिका कार्यालयले १३ जनालाई अपाङ्गगता परिचयपत्र वितरण गरेको छ भने जिल्ला निर्वाचन कार्यालयले १५ जनाको तस्विर सहितको मतदाता नामावली संकलन गरेको छ । भुसंरक्षण कार्यालयले ६४ जनालाई पहिरो नियन्त्रण प्रबिधिको बारेमा प्राबिधिक परामर्श दिएको थियो ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र मालपोत कार्यालयको टोलीले पनि कार्यालयको सेवा सुबिधा र प्रक्रियाको बारेमा सर्वसाधारणलाई जानकारी गराउनुभएको थियो ।
सदरमुकामसम्म पुगेर सरकारी सेवा प्राप्त गर्न नसकेको गरिव, विपन्न, अशक्त, असाहय, जेष्ठ नागरीकहरुलाई लक्षित गरेर घुम्ती शिवीर सञ्चालन गरेको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।