शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा साढे दुई लाखबढी भेटी सङ्कलन
प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, फागुन २६ गते ।
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा पवित्र धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा साढे दुईलाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । यस वर्षको महाशिवरात्री पर्वको अवसरमा भगवान् शिवजीको पुजा आराधना गर्न आएका श्रद्धालु भक्तजनहरुबाट दुईलाख ६५ हजार ८४० रुपैयाँ सङ्कलन गरिएको हो ।

गलेश्वर मन्दिरभित्र रहेका मण्डप र अन्य मन्दिरबाट मात्रै एकलाख ३१ हजार ३४६ रुपैयाँ आर्थिक सङ्कलन भएको छ । यसैगरी शिवलिङ्गबाट ७९ हजार ७१४ र रसिदबाट ५४ हजार ७८० रुपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गएको वर्षभन्दा यसवर्ष ७३ हजार ८७७ रुपैयाँ बढी आम्दानी भएको छ भने सङ्कलित रकमबाट गलेश्वर क्षेत्रमा पूर्वाधार विकास गरिने क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

गलेश्वर मन्दिरमा शिवरात्री पर्वहरुमध्ये यसपाली सबैभन्दा धेरै २५ हजारबढी भक्तजनहरु आएको क्षेत्र विकास कोषका सचिव गुमानसिं कार्कीले जानकारी दिनुभयो । भगवान शिवको दर्शन गर्नका लागि यसवर्ष गलेश्वरमा म्याग्दीसहित काठमाडौं, काभ्रे, पाल्पा, रुपन्देही, बुटवल, बाँके, बर्दिया, कास्की, पर्वत, बागलुङलगायतका जिल्लाबाट दर्शनार्थीहरु आएको उहाँले बताउनुभएको छ ।
लगातार विदा परेको हुनाले पनि यो वर्षको शिवरात्रीमा भक्तजनको संख्या वृद्धि भएको बताइएको छ । पछिल्लो समय गलेश्वर मन्दिर धार्मिक पर्यटनको क्षेत्रका रुपमा समेत विकास हुँदै गैरहेको छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा सीसी क्यामेरा जडान गरिनुका साथै भक्तजनलाई लक्षित गरी ईन्टरनेट सेवा उपलब्ध गराइएको छ ।
प्रतिक्रिया राख्नुहोस्