टोड्के महोत्सवको दोस्रो दिन – खेलकुद र कलाकारको प्रस्तुती (फोटोसहित)
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन २६ गते ।
मध्य म्याग्दीको पहाडको टाकुरामा पर्ने टोड्केमा सञ्चालन भएको दोस्रो टोड्के महोत्सवको दोस्रो दिन बुधबारदेखि खेलकुद प्रतियोगिता र सांगीतिक कार्यक्रम सुरु भएको छ ।

एक लाख ११ हजार रुपैया पुरस्कार राशीको पश्चिमाञ्चल क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक टोड्के क्षेत्र विकास कोषले जनाएको छ ।
पुरुष भलिबलको उद्घाटन खेलमा घरेलु टिम म्याग्दीसंग अर्घाखाँची भिडेका छन् । घरेलु टिम म्याग्दीले अर्घाखाँचीको पाहुना टिमलाई तिन सेटनै आफ्नो कब्जामा पारि पराजीत गरेको महोत्सव मुल आयोजक समितिका सदस्य एकजित रोकाले बताउनुभयो ।
पुरुष भलिबल प्रतियोगितामा आठ वटा जिल्लाले सहभागिता जनाएको महोत्सव मुल आयोजक समितिका सदस्य सागर सुवेदीले जानकारी दिनुभयो । यसैगरी गाविस स्तरीय महिला भलिबलमा ६ टिमले नाम दर्ता गराएका छन् । महिला भलिबलको नाम दर्ता गर्ने समय भोली सम्म रहेको छ ।
महोत्सवमा दोस्रो दिन कलाकार लाली बुढाथोकी, मुना थापा, अमित विश्वकर्मा, सज्जन बोहोरा, कुलदिप जुक्जाली, जिवन कार्कीको गित प्रस्तुतीका साथै स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत भएको सुवेदीले जानकारी दिनुभयो । कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा मंगलबारदेखि दोस्रो टोड्के महोत्सव सुरु भएको थियो ।
समुद्रि सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले टोड्के क्षेत्र विकास कोषले महोत्सव आयोजना गरेको हो । महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
यसैगरी विभिन्न जात जातीको झाँकी, कृषि, वन पैदावार र स्थानीय उत्पादनको प्रर्दशनी महोत्सवको थप आर्कषणका रुपमा रहेको छ । महोत्सवको अवसरमा स्वर्गद्धारी आश्रम परिसरमा शिवपुराण महायज्ञ पनि सञ्चालन हुने कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । 
टोड्के महोत्सवलाई प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैया सहयोग गरेको छ । महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको थियो ।
महोत्सवलाई जिल्ला विकास समितिले पनि विद्युत रोयल्टीको एक लाख रुपैया बजेट छुट्टाएको छ । आयोजकका अनुसार कुहुँ राम्जाली परिवारले एक लाख ५० हजार रुपैया सहयोग गरेर महोत्सवको मुख्य प्रायोजक बनेका छन् ।
प्रतिक्रिया राख्नुहोस्