संविधानको कार्यान्वयन सरकारको प्राथमिकता ः पर्यटन मन्त्री पोखरेल
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
(टोड्के) म्यागदी,फागुन २५ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले बर्तमान सरकारको मूख्य प्राथमिकता संविधानको कार्यान्वय भएको बताउनुभएको छ । मन्त्री पोखरेलले संविधानको कार्यान्वय नगरे सम्म वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको हो ।
म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा आयोजना गरिएको दोस्रो टोड्के महोत्सव–२०७२ को उद्घाटन गर्दै उहाँले पूर्णरुपमा संविधानको कार्यान्वयन गरेपछि सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला आएको बताउँदै सरकार परिवर्तन नहुने र काँग्रेस महाधिवेशनपछि सरकार विस्तार हुने बताउनुभयो ।
उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँचवटा कार्यभार पुरा नगरेसम्म अहिलेकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ ।
मन्त्री पोखरेलले पाँचवटा कार्यभारमध्ये संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई राहत वितरण, पूनर्निर्माण, तराई–मधेश समस्याको दीगो समाधान र स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारको नेतृत्व हस्तान्तरण हुने दावी गर्नुभयो ।

उहाँले यी पाँचवटा कार्यभार पुरा नगरेसम्म वर्तमान सरकार कुनैपनि हालतमा नढल्ने बताउँदै काँग्रेस–एमालेलगायत सबै दल मिलेर संविधान बनाएकाले संविधानको कार्यान्वयनका लागि पनि काँग्रेस सरकारमा आउनुपर्ने बताउनुभयो ।
काँग्रेस सरकारमा आए वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सरकार विस्तार हुने र बरु त्यसका लागि आफूले मन्त्री पद छोड्न तयार रहेको समेत उहाँको भनाई थियो ।
म्याग्दी जिल्ला ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्रले प्रख्यात रहेको भन्दै मन्त्री पोखरेलले पर्यटकीय क्षेत्रको विस्तार एवं विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्री पोखरेलले धौलागिरिका पर्यटकीय क्षेत्रहरुलाई समेटेर पर्यटन विकास समिति बनाउन लागिएको बताउनुभयो । पर्यटन विकास समिति मार्फत यहाँका मूख्य पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनका लागि सरकारले छिटै योजना सार्वजनिक गर्न लागेको बताउनुभयो ।
उहाँले टोड्के क्षेत्रमा सामुदायिक लज निर्माण र सडकमार्गको स्तरोन्नतिका लागि सक्दो पहल गर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालन, होटल विस्तारलगायतका पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पशुपंक्षी विकास राज्य मन्त्री नरदेवी पुन र सांसद नवराज शर्माले जिल्लाको पर्यटकीय क्षेत्रहरुमा पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । महोत्सव एकहप्ता सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्