म्याग्दीमा स्थानीय जातका भैंसी संरक्षण गर्न कार्यक्रम सञ्चालन
प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन २३ गते ।
पछिल्लो समय गाउँघरमा भैंसी पाइन छाडेपछि पहाडी जिल्ला म्याग्दीमा स्थानीय जातका भैंसी संरक्षण कार्यक्रम सञ्चालन भएको छ । स्थानीय तहमा भैंसी तथा पाडापाडी लोप हुँदै गएपछि गएको आर्थिक वर्ष २०७०÷७१ बाट संरक्षणको कार्यक्रम लागू गरिएको हो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख संयोजक रहेको जिल्ला पशु विकास कार्यदलको बैठकबाट स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीले जनाएको छ । पशु उत्पादन निर्देशनालयबाट प्राप्त केन्द्रीय कार्यक्रमअनुसार एकीकृत पशु आनुवंशिकी स्रोत संरक्षण संवद्र्धन तथा उपयोगका लागि व्यावसायिक कार्यक्रममार्फत लिमे पार्कोट जातका भैंसीको संरक्षण शुरु गरिएको छ ।

स्थानीयस्तरमा रहेका भैंसीहरुको स्थानीय नश्ल सुदृढीकरण तथा संरक्षण गर्ने उद्देश्यले वातावरणीय प्रतिकूलता र जलवायु परिवर्तनमा सुधार गर्न कार्यक्रम लागू गरिएको पशु कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्ष ०७०÷७१ मा राम्चे गाविसमा भैंसी संरक्षणसम्बन्धी २ ओटा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन गरिएको गाविसमा १० जनाका दरले विभिन्न ५ ओटा समूह निर्माण गरी ५० जना कृषकहरुलाई समावेश गरिएको छ ।
ती समूहबाट १० जनाको एउटा मूल समिति बनाएर जिल्ला पशु सेवा कार्यालयबाट प्राप्त अनुदानमार्फत् भैंसी संरक्षण कार्यक्रम गरिएको कार्यालयका पशु सेवा प्राविधिक डिल्लीराम रेग्मीले बताउनुभयो । उहाँका अनुसार समितिलाई २ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने त्यसबाट किसानहरुलाई कार्यक्रमको बारेमा अभिमुखीकरण, कार्ययोजना निर्माण गरी भैंसी संरक्षण गर्ने गरिएको छ । प्राप्त अनुदानमार्फत पशुमा लाग्ने परजीवी नियन्त्रण, स्थानीय राँगो खरिद, पशुको आहारा विकास, पशु खोप र औषधी कोष स्थापनालगायतका कार्यक्रमहरु गरिएको प्राविधिक रेग्मीले जानकारी दिनुभएको छ । समितिलाई २ किस्तामा अनुदान रकम उपलब्ध गराउने गरिएको छ ।

यसैगरी आर्थिक वर्ष ०७१÷७२ मा पश्चिम म्याग्दीको मुना गाविस र यसवर्ष देवीस्थान गाविसमा पनि ५०÷५० जना कृषकहरु छनोट गरी स्थानीय जातका भैंसी तथा पाडापाडी संरक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका वरिष्ठ पशु चिकित्सक डाक्टर दयाराम चापागाईंले बताउनुभयो । यसरी कार्यक्रम सञ्चालन गरिएका गाविसहरुमा पशुको उत्पादन तथा गुणस्तरमा वृद्धि र विकासमा सुधार आउन थालेको उहाँको भनाई छ ।
परिजीवी नियन्त्रणपश्चात् पशुको उत्पादनमा वृद्धि, आहारा विकासले खाली जग्गा तथा नाङ्गा पाखामा डाले, भुइँघाँस रोप्ने र छर्ने काम गरिएको छ । त्यस्तै पशुलाई पौष्टिक तत्व, पशु स्वस्थ्य, स्थानीय नश्ल सुधारले पशुको प्रजनन क्षमता वृद्धि भई विकास तथा उत्पादन बढ्दै गएको कार्यालयले बताएको छ । किसानहरु समेत व्यावसायिकरण बन्दै गएपछि स्थानीय तहमा भैंसीबाट घ्यु, दुध, दहीको उत्पादन वृद्धि भएको किसानहरुले बताएका छन् । साथै वर्षे घाँसको बिउ वितरण गर्नुका साथै नेपियर, अम्लिसोलगायतका घाँस एवं विरुवा पनि रोप्न थालिएको छ ।
प्रतिक्रिया राख्नुहोस्